नेपालको खेलकुद क्षेत्रमा लाग्नेहरुले अन्य पेशा नअङ्गाल्ने हो भने त्यस्तो व्यक्तिको भविष्य अन्धकार नै हुने काठमाडौं टेबाहालका तेक्वान्दो सहायक प्रशिक्षक छैठौं डान रमेश मान तुलाधर बताउँछन् ।
आफू १५—१६ वर्षको उमेरदेखि नै मार्शंलआर्टमा रुचि राख्ने भएका कारणले खेलकुद क्षेत्रमा लागियो । तर विदेशी मुलुकको दाँजोमा भन्ने हो भने खेलकुद क्षेत्रमा लाग्नेहरुको भविष्य खासै नभएको गुनासो पोख्छन् । वास्तवमा खेलाडीलाई राष्ट्रको गहनाको रुपमा लिने गरिन्छ, मञ्चमा उभिएर मन्त्री, नेताहरुले खेलाडी भनेको देशको गहना, विश्वसामु पहिचान बनाउने खेलाडी नै हुन् भन्दै भाषण ठोक्छन् तर, भाषण ठोकेर हिँडेपछि सबै विर्सन्छन् ।
नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने र खेलकुद बुझेको खेलाडीहरुको मर्म बुझेको व्यक्तिले नेतृत्व नगरेसम्म नेपालको खेलकुद क्षेत्रको विकासको कल्पनासम्म नगरे हुने सहायक प्रशिक्षक तुलाधर बताउँछन् ।
धादिङ जिल्लाको खेलकुद विकास समितिमा सहायक प्रशिक्षकको रुपमा २०५४ सालदेखि तेक्वान्दोको प्रशिक्षण दिँदै आइरहेका तुलाधर सानै उमेरदेखि मार्शंलआर्टप्रति रुचि भएका कारण त्यतिबेलै संकटा क्लवको भवनमा मोहन घलेले तालिमबाट प्रभावित भई त्रिपुरेश्वरस्थित रंगशालामा प्रशिक्षण लिनपुगे तुलाधर । 
जुनियर च्याम्पियनसिप तेक्वान्दो प्रतियोगितामा सहभागी भई खेल जीवन सुरुवात गरेका तुलाधरले घरायसी समस्याका कारण करिब दुई वर्ष खेलक्षेत्रबाट टाढा रहे । पछि गुरु इन्द्रमान तुलाधरको आग्रहपछि फेरि प्रशिक्षण लिई त्यतिबेले ब्ल्याकबेल्ट लिएका तुलाधरले राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत सहायक प्रशिक्षकका रुपमा धादिङमा तेक्वान्दोको प्रशिक्षण दिँदै आइरहेका छन् ।
आफूले ब्ल्याकबेल्ट हासिल गरेपछि काठमाडौंको साँखुमा झण्डै तीन दर्जन खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका तुलाधरले त्यसपछि राखेपअन्तर्गत सहायक प्रशिक्षक भई धादिङ जिल्ला खेलकुद समिति अन्तर्गत हालसम्म धादिङमा प्रशिक्षण दिँदै आइरहेका छन् ।
तुलाधरद्वारा प्रशिक्षण लिएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाइ देशको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न सफल बनिसकेका छन् । काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तुलाधरद्वारा प्रशिक्षण लिएका प्रदिप गिरीले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए भने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि तुलाधरद्वारा प्रशिक्षण लिएकी अनिता घलेले पनि उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन् । 
राष्ट्रिय खेलकुद परिषदको कर्मचारीको रुपमा सहायक प्रशिक्षक रही लामो समय धादिङ जिल्लामा तेक्वान्दोको प्रशिक्षण दिन पाउँदा सन्तुष्ट मिले पनि प्रशिक्षणका लागि चाहिने अत्यावश्यक किक प्याड, चेस प्याड, हेड कभर, गोइङ गाडलगायत सामाग्रीहरु राज्यद्वारा उपलब्ध नगराउँदा आफूलाई साह्रै नै दुःख लाग्ने गरेको तुलाधर बताउँछन् ।
आफूले राखेपको मात्र मुख नहेरै प्रशिक्षणका लागि चाहिने सामाग्रीहरु विभिन्न संघसंस्थाहरुको सहयोगमा उपलब्ध गराई प्रशिक्षण दिँदै आइरहेको पनि तुलाधर बताउँछन् । प्रशिक्षणका लागि चाहिने केही सामाग्रीहरु बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीको पहलमा उपलब्ध गराएपछि हाललाई खेलाडीहरुले प्रशिक्षणको लागि केही राहत महसुस गरी प्रशिक्षण लिने वातावरण बनेको छ ।
हाल धादिङ तेक्वान्दो डोजाङमा झण्डै पचास जनाको हाराहारीमा तेक्वान्दो खेलाडीहरुले नियमित प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई बेलुका दुई घन्टा प्रशिक्षण दिँदै आइरहेका सहायक प्रशिक्षक तुलाधर बताउँछन् ।
राखेको कर्मचारीको हैसियतले आफ्नो दैनिकी सामान्य चलेको बताउने तुलाधर पछिल्लो समय खेलकुद क्षेत्रमा लागेर विगतको भन्दा अहिले केही राहत महसुस गर्न सकिन्छ । तर खेलकुद क्षेत्रमा लागेर आफ्नो बालबच्चालाई उच्च शिक्षा र परिवारमा दैनिक जीवन यापन चलाउन धौ—धौ पर्ने स्थिति अहिले पनि छ । यस्तो स्थिति जबसम्म भइरहन्छ खेलकुद क्षेत्रमा लाग्ने सोच भएका र राम्रा खेलाडीहरु आफूले अबसर पाउने वित्तिकै विदेशिने परम्भरा पनि रहिरहने तुलाधर बताउँछन् ।
नेपालमा खेलकुदको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनुभन्दा ६ महिना अगाडि खेलाडी छनौट गरी क्लोज क्याम्पमा राख्ने र प्रतियोगिता सकेपछि फेरि खेलाडीलाई विर्षने परम्परा, खेलकुदको जिम्मेवार संघसंस्था र पदाधिकारीहरुमा राजनीतिक हसक्षेप बढी भएको कारणले नेपालको खेलकुद क्षेत्रको भविष्य अन्धकार भएको तुलाधर बताउँछन् ।
पछिल्लो समय तेक्वान्दोका अधिकांश खेलाडीहरु आत्मरक्षा र सोखको हिसावले मात्र खेल्न आउने गरेको तुलाधर बताउँछन् । खेलकुद क्षेत्रमै लागेर आफ्नो देशको नाम विश्वसामु चिनाउने उद्देश्यले लागेका खेलाडीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र लगानीको हिसावले पनि विदेशमा खेल्न गएको बेला आफ्नो बालबच्चा र परिवारको भविष्यको लागि रोजगारीको सिलसिलामा उतै भाग्ने गरेको तुलाधर बताउँछन् ।
राम्रा खेलाडी उत्पादन गराउन पाउँदा आफू सन्तुष्ट भएको र आफूद्वारा प्रशिक्षित खेलाडीहरु कोही इन्डियन आर्मी, कोही नेपाल आर्मी, प्रहरी भएको देख्न पाउँदा आफूलाई खुसी लाग्ने तुलाधर बताउँछन् । आफूले धादिङमा तेक्वान्दो खेलको विकास र विभिन्न प्रतियोगिताहरु गर्नको लागि स्थानीय तहले राम्रो सहयोग गर्दै आइरहेको तुलाधर बताउँछन् ।