डा. रणशेर राई स्मृति ग्रन्थ प्रकाशन

19.3k Shares

काठमाडाैँ । उदयपुर सदमुकाम गाईघाटको टाउन प्लानिङमा महत्वपूर्ण भुमिका निभाउनु भएका डा. रणशेर राईको स्मृतिमा प्रकाशित डा. रणशेर राई स्मृति ग्रन्थ प्रकाशनमा आएको छ । भारतीय सेनामा भर्ती भएर सेवामा गर्दा गर्दै स्वदेश फर्केर खोटाङ तथा उदयपुरमा स्थानिय नागरिकहरुलाई उपचार गर्दै सामाजिक अभियानमा जोडिनु भएका राईले गाईघाटको टाउन प्लानिङ गर्न व्यवस्थित गर्नका लागि महत्वपूर्ण भुमिका निभाउनु भएकाे थियाे ।

भारतीय सेना बजिरध्वज राईका छाेरा रणशेर राई (वि.सं. १९८२–२०३७) भारतकाे क्वाइटामा जन्मनुभएकाे हाे । डा. स्वा राईले खोटाङ, उदयपुर तथा आसपासका जिल्लामा आधुनिक चिकित्सा सेवामार्फत र विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा गरेको अतुलनीय योगदान गर्नुभएकाे थियोे । स्व.डा. राई लाइसेन्स इन मेडिकल प्राक्टिस (एलएमपी) दीक्षित हुनुहुन्थ्याे ।
बेलायती सेनाको नं. २११४२२६६ २-१० जिआर का सैनिक रहनुभएका  वहाँले विदेशमा आर्जन गर्नुभएको ज्ञान र सीपलाई स्वदेश फर्केपछि प्रयोग गरी चिकित्सा क्षेत्रमा योगदान गर्नुभएकाे थियाे । वि.स. १९८२ फागुन २३ मा जन्मेको वहाँको वि.स. २०३७ जेष्ठ २२ मा स्वर्गरोहण भएको थियो ।

यस्तैमा वहाँकाे सम्मानमा डा. रणशेर राई स्मृति फाउन्डेसन स्थापना गरिएकाे छ । बुलापन्थे मा.वि.मा डा. रणशेर राई स्मृति अक्षयकाेष स्थापना हुनु, गाइघाटमा डा. रणशेर राई समाधिस्थल बन्नु, प्रतिमा बन्नु, पाठ्यपुस्तकमा जीवनी छापिनु डा. राईकाे याेगदानकाे सम्मान हाे । फाउन्डेसनले स्मारिका (२०७४) प्रकाशन गरेपछि अहिले 'डा. रणशेर राई स्मृति ग्रन्थ' प्रकाशन गरेकाे छ । यस ग्रन्थमा डा. राईका समकालिन साथीका लेखहरूसमेत छन् । ती कतिपय लेखहरू एतिहासिक महत्व भएकाले सम्पादन नगरी भाषा मात्र हेरिएका छन् ।

ग्रन्थमा स्व.डा. राईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको योगदानबारेका सामग्री समेटिएका छन् । पुस्तकमा राईको व्यक्तित्वबारे वहाँका सहकर्मीहरूले संस्मरण, लेख तथा कविता लेखेका छन् । कृति प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको नेतृत्वमा प्रकाशन भएको हो भने किताबकाे प्रमुख व्यवस्थापककाे रूपमा हिराधन राई हुनुहुन्छ ।

सम्बन्धित समाचार