काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच नै कुटाकुट भएको हो । रेशमलाल र रञ्जिता श्रीमान्–श्रीमती हुन् ।
काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठक बस्नुअघि भइरहेको छलफलका क्रममा आफूहरूमाथि कुटपिट भएको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए । पत्रकार सम्मेलनमार्फत विश्वकर्माले आफूहरूलाई कुटपिट गरिएको र ज्यान मार्ने धम्की दिइएको बताएका छन् ।
पार्टी कार्यालयको मूलढोका बाहिरबाट बन्द गरेर आफूहरूमाथि भौतिक आक्रमण भएको उनले बताए । विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार गएमा बाहिर निस्किँदा पिट्ने धम्की दिएको र सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने हत्यासमेत हुनसक्ने भनेर चौधरीले धम्की दिएको बताए । यद्यपि, चौधरीले माफीसमेत मागेको विश्वकर्माले बताए ।
‘घरको एक्जिट ढोका बाहिरबाट बन्द थियो, संस्थापक केन्द्रीय सदस्यबाहेक बाहिरका मान्छेहरू पनि थिए, त्यसैले उहाँ (रेशम चौधरी)ले सुनियोजित ढंगले आक्रमण गराएको हो भन्ने लाग्छ,’ विश्वकर्माले भने, ‘हामीलाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ ।’
नाउपाका अर्का संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बैठक बिहान ८ बजे बोलाइएको तर अध्यक्ष श्रेष्ठ आइपुग्न केही ढिला हुने भएपछि आफूहरू संरक्षक चौधरीसँग अनौपचारिक छलफलमा रहेकै बेलामा कुटपिट भएको बताए । आजको राजधानी दैनिकबाट