धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो ।
सत्ता जोगाउन नाउपाका दुई बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी
बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।
अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्ने विषयमा भने नागरिक उन्मुक्तिबाट सांसद बनेकाहरू नै दुई कित्तामा देखिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका प्रमुख रामलाल डंगौराले नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
बैठकमा सुदूरपश्चिमका सात जना सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता थियो । साथै पार्टी संरक्षक रेशमलाल चौधरी पनि बैठकमा सहभागी थिएनन् । टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको छ ।
पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति बिना भएको भन्दै अर्कोथरीले विरोध नै जनाएका थिए । पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ । तर, सोही पार्टीका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताइरहेका छन् ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएका छन् । चौधरीले आफूहरूको समर्थन कायमै रहने बताए । आजको राजधानी दैनिकबाट