काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूमा विदेश भ्रमण मोह बढेको भन्दै पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको छ । पार्टीका सांसदहरूले नै विदेश भ्रमणको औचित्य, खर्चको स्रोत र राजनीतिक नैतिकतामाथि प्रश्न उठाएका हुन् ।
रास्वपाका सांसद गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत खुल्ला टिप्पणी गरेका छन् । सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए पुगेका तथा पुगिरहेका नेपाली प्रतिनिधिमण्डलको खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् ।
‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु,’ उनले लेखेका छन् ।
उनले कोपमा सहभागी हुन जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने बताएका छन् ।
‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नै पर्छ,’ कार्कीले लेखेका छन् ।
त्यस्तै, सांसद ज्वाला संग्रौलाले सामूहिक रूपमा विदेश भ्रमण गर्नु देश र जनताको हितविपरीत भएको टिप्पणी गरेकी छन् । हिजो अरूले गर्दा गलत मानिएको अभ्यास आज आफ्नै पार्टीका नेताहरूले गर्दा कसरी सही हुन्छ भन्ने उनको प्रश्न छ ।
‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू । हिजो अरूले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ रु’ उनले लेखेकी छन् ।
सम्बन्धित मुलुकले नै खर्च बेहोर्ने गरी विज्ञ तथा सांसदलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमणलाई अन्यथा मान्न नसकिने उनको भनाइ छ । तर राज्यको ढुकुटी खर्च गरेर विदेश भ्रमण गरिएको हो भने त्यो गलत हुने उनले स्पष्ट पारेकी छन् ।
‘सम्बन्धित मुलुकले खर्च बेहोरेर यति सांसद पठाइदिनु, त्यो पनि विज्ञ पठाइदिनु भनेर निमन्त्रणा गरेको हो भने ठीक छ । तर राज्यको धनराशि खर्च गरेर हामी उडेका हौँ भने यो तरिका हिजो पनि बेठीक हो र आज पनि,’ संग्रौलाले लेखेकी छन् ।
उनले आफू विदेश भ्रमणमा जान नपाएर यस्तो टिप्पणी गरेको नठान्नसमेत आग्रह गरेकी छन् । विदेश भ्रमणभन्दा आफ्नै जनताको आँगनमा पुग्दा बढी जिम्मेवार महसुस हुने उनको भनाइ छ ।
अर्की चर्चित सांसद आशिका तामाङले पनि राज्यको ढुकुटीबाट सांसदहरूले कति पटक विदेश भ्रमण गर्न पाउने हुन् भन्दै प्रश्न उठाएकी छन् । संसदीय समितिको नाममा हुने विदेश भ्रमणको उद्देश्य र उपलब्धिबारे आफ्नै पार्टीका सांसदहरूलाई समेत जानकारी नहुने गरेको उनको गुनासो छ ।
राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको उपलब्धि के हो भन्ने जनताले जान्न पाउनुपर्नेमा उनले जोड दिएको छन् । भ्रमणको उपलब्धि समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउनेमा मात्रै सीमित भएको हो कि भन्ने आशयसमेत उनले व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह निकट सांसद राजु पाण्डेले पनि पद र जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक प्रवृत्तिप्रति व्यंग्य गरेका छन् ।
‘जिम्मेवारीरकुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ‘ अचम्म १ लाज पनि लजायो कि १ कुरीकुरी । जय मातृभूमि नेपाल,’ उनले फेसबुकमा लेखेका छन् ।
रास्वपाका २० जना नेता तथा सांसदको टोली आज चीन भ्रमणमा जाँदैछ । त्यस्तै, कोप–३१ मा सहभागी हुन नेपालबाट पाँच मन्त्री टर्की पुगेका छन् । भ्रमणको औचित्य र खर्चबारे बहस भइरहेको छ ।