गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन

10.1k Shares

काठमाडाैँ - गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । 

जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष २३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए । 

गुल्मीबाट गत वर्ष रु १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गा पोख्रेलले बताइन् । 

गुल्मीको सुन्तलाको माग अत्यधिक छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन् । अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । 

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । परियोजनाबाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाई र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख पोख्रेलले बताए ।

सम्बन्धित समाचार