काठमाडौं- विशेष अदालतले उच्च अदालत दीपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाको इजलासले कटवाललाई भ्रष्टाचारी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दालाई अन्तिम किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ। विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।
रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दीपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।
पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौता समेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।