दिनभरी शारीरिक या मानसिक परिश्रम गरी मस्तिष्क स्नायुमण्डल र मांशपेशीहरु थाकेपछि गाढा निन्द्राबाट शरीरले आराम पाउँदछ र शरीर स्वस्थ र सबल हुन्छ । दिनभरीको परिश्रम पछि राती ढिलासम्म जागा हुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । मनुष्य शरीरको लागि निन्द्रा अत्यन्त उपयोगी बस्तु हो । पुर्ण निन्द्रा नलिनाले अपच, दिमागको कमजोरी, शीर पीडा, आदि रोगहरु हुन्छन् । स्वस्थ मनुष्यले शरीर तथा जीवनको रक्षाको लागि उज्यालो हुनु अघि नै अर्थात् ४ देखि ५ बजे भित्र नै उठ्ने गर्नु पर्छ । “ब्राम्हे मुहुर्ते वध्येत स्वास्थ रक्षार्थ मानुष” भनेर खप्तड बाबाले भन्नु भएको छ । बिहान सुर्य उदाउनुभन्दा अगाडिको समय ब्रम्ह मुरतमा वायुमण्डल ताजा हुने समय हो त्यसैले यस समयमा उठ्नाले ताजा वायुको सेवन गर्न पाइने हुन्छ । ताजा वायुको सेवनले शरीरलाई बिकार मुक्त गर्न धेरै हदसम्म सहयोग पुग्छ । बिहानको ताजा वायुको सेवन गर्नाले कफ प्रकोप लगभग हुँदैन भन्दा पनि हुन्छ ।
बेलामा सुत्नु बेलामा उठ्नु मानव स्वास्थ्यको लागि अनिवार्य कुरा हो भन्ने प्रमाणित भइसकेको छ र निन्द्राले स्नायुमण्डलीय थकाइ वा ह्राश भएको शक्तिलाई रिचार्ज गर्दछ भन्ने पुष्टी भइसकेको छ । यसैले उचित समयमा उचित मात्रामा निन्द्राको सेवन गर्नु उचित विहारको एउटा अभिन्न अंग हो ।
हामीले कति घण्टा सुत्नुपर्छ ?
सामान्यतः एक वयस्क व्यक्तिको लागि ६ देखि ८ घण्टाको निन्द्रा आवश्यक हुन्छ । भर्खरै जन्मेका बच्चाहरु २४ घण्टामा २० देखि २२ घण्टासम्म पनि सुत्ने हुन्छन् भने उमेर बढ्दै गएपछि सुत्ने अवधि घट्दै जान्छ । गाढा निन्द्रा प¥यो भने ५ देखि ६ घण्टाले पनि पुग्छ । आवश्यक मात्रामा निन्द्रा पुगेन भने ताजापनको महसुस हुँदैन र आवश्यक भन्दा बढी सुत्नाले पनि जीउ भारी हुन्छ । बेलुकाको खाना र सुत्नु बिचको अन्तर कमसेकम १ देखि ३ घण्टा हुनुपर्छ । आवश्यक भन्दा धेरै मात्रामा खाने गरेमा वा भारी खानाखाने गरेमा खाना खानासाथ जीउ भारी भएर निन्द्रा लाग्छ र निन्द्रा लाग्नासाथ सुतेमा १–२ घण्टापछि बिउझिन्छ र त्यसपछि रातभरी निदाउन गाह्रो हुन्छ ।
सामान्यत राती राम्रोसँग निन्द्रा पर्छ भने दिउसो सुत्नु आवश्यक छैन तर गर्मीको कारणले दिउसो निन्द्रा लाग्न सक्छ यस्तो अवस्थामा छोटो समय १०–३० मिनेटसम्म सुत्न सकिन्छ तर लामो समयसम्म सुत्दा जीउभारी हुन सक्छ । त्यसैले दिउँसो कतिबेरसम्म सुत्ने या नसुत्ने भन्ने मापदण्ड शरीर नै हो । सुतेर जीउ भारी हुन्छ भने सुत्नु हुँदैन सुतेर जीउ हल्का हुन्छ भने सुत्नुको लाभ हुन्छ । यस अवस्थामा राती सुत्न नपाउने वा नमिल्ने हो भने मात्र दिउँसो सुत्नु पर्छ ।
अनिन्द्रा के हो ?
अनिन्द्रा भन्नाले सिंगै रात निन्द्रा नलाग्ने होइन । राती ओछ्यानमा जाने बित्तिकै निन्द्रा नलाग्ने, बिचबिचमा बिउझिरहने, निद्रा लाग्दा पनि धेरै गाढा नलाग्ने अबस्था अनिन्द्राका लक्षण हुन् । विशेष गरी ४० बर्षभन्दा माथिलाई यस्ता समस्या देखापर्छ ।
अनिन्द्राको कारण
विभिन्न किसिमको गलत भावहरु नै अनिन्द्राको कारण हो भविष्यप्रतिको भयको भाव पनि मूल कारण हो । अनुचित विचारको कारणले रक्तसंचार अस्वाभाविक हुनु र अनैच्छिक स्नायुप्रणाली उत्तेजित भइरहनु यसको तात्कालिक कारण हो । त्यसैले अनिन्द्राको मुख्य कारण अनुचित विचार नै हो । अन्य कारणहरुमा–
– चिन्ता र विषयभोग सम्बन्धि मानसिक चित्त देखिरहनु ।
– धुम्रपानको अधिक व्यवहार गर्नु ।
– ढिलो खाना खानु ।
– बन्द कोठामा सुत्नु ।
– उत्तेजना पुर्व साहित्यको अध्ययन गर्नु ।
– सुत्नु अघि तास खेल्ने या मोबाइल टिभी बढि हेर्नु ।
– हृदयको धडकन्, अपच गठीया या कुनै दुखाई हुनु ।
– आत्मग्लानी, पापको प्रायश्चित भइरहनु आफु अपराधि ठानिरहनु अनिन्द्राको कारण हुन् ।
अनिन्द्राको उपायहरु
–राम्रो निन्द्राको लागि खुला हावादार कोठा, शान्त सफा बिछ्यौना खुकुलो लुगा हुनुपर्छ ।
– सुत्नु अघि कुनै पुुस्तकको अध्ययन गर्न पनि सकिन्छ ।
– ठीक समयमा खाना खाने, सुत्ने, दिसा पिसाप गर्ने ।
– सुत्नु अघि तातोपानी महपानी पीउने गर्दा पनि निन्द्रा लाग्छ तर
शरिरमा गर्मी बढेको छ भने मह नखाने ।
– सुत्नु अघि १–२ मिल हिँड्दा पनि हुन्छ ।
– सहनसक्ने मनतातो पानीमा १०–२० मिनेटसम्म खुट्टा डुबाउने तर टाउकोमा भने चिसो पानीको रुमाल राख्ने ।
– ठीक ढंगले बस्ने, उभिने, मेरुदण्ड सदा सोझो खुकुलो राख्ने दैनिक योगासान व्यायाम गर्ने ।
– सुत्ने बेलामा सम्पूर्ण शरीरमा हत्केलाले सेकी, रेकीको प्रयोग गर्ने ।
– सबैभन्दा मुख्य कुरा निदाउने प्रयास नगर्ने आफ्नो काम सुत्ने हो भनेर शरीर शिथिल गरेर सवासनमा सुत्ने, निन्द्रा लागोस् भन्ने इच्छा नै छोडिदिने सुत्ने काम मात्र गर्ने, शान्त रहेर श्बास बिस्तारै गन्ने ।
– शारीरिक व्यायाम गरेपछि निन्द्रा लाग्ने भएकोले दैनिक घरको काम व्यायाम गर्ने, हिँडडुल, परिश्रमबाट पनि पर्याप्त निन्द्रा लाग्छ ।
– अनिन्द्राको रोगी विचार ढाँचासँग सम्बन्धित हुनाले त्यसलाई ठीक गर्न मनलाई भयमुक्त गर्नु नै स्थायी समाधान हो । भयमुक्त हुनको लागि डराएर फाइदा छैन, डराउनु पर्ने जरुरी नै छैन भनेर रोगीले बोध गर्नुपर्छ भविष्यमा हुनसक्ने सुविधामा कटौती भएपनि आनन्दको कटौती कसैले पनि गर्न सक्दैन, अरुबाट सुविधा मात्र पाउने हो आनन्द होइन, आनन्द त आफै भित्र छ भन्ने कुराको बोध गर्नु नै भयको समाधान हो ।
कुनै व्यक्ति सर्वागिन रुपले स्वस्थ रहन उचित विचार पनि आवश्यक हुन्छ भन्ने कुरा स्पष्ट भइसकेकोले उचित विचार भन्नाले कसैको पनि कुनै पनि चिज सित्तै खान लिन नखोज्ने अर्थात् लोभ नगर्ने, कसैप्रति आवश्यकताभन्दा बढि आश गरेर मोह र रागको वशमा नपर्ने कसैको केहि पनि नबिगारांै बरु अरुको लागि केहि गर्न सकौं भन्ने सोच्ने र आफ्नो कमाइको केहि अंश रकम सबैको भलाइ हुने काममा प्रयोग गर्ने आदि उचित विचारहरु हन् । आफुले राम्रो गर्दै जाउँ जे जे आइपर्ला सामना गर्दै जाउला भन्ने सोचाइ पनि एउटा राम्रो र उचित विचार हो ।
यसको साथै उचित आहारमा प्रशस्त रेशायुक्त भिटामिन र मिनरल्स् युक्त प्राकृतिक आहार र पानीको ठीक समयमा सेवन गर्दा पाचन ठीक हुन थाल्दछ र पाचन ठीक भएपछि शरीर पनि हल्का र मन पनि हल्का हुन थाल्दछ । यसरी उचित आहार विहार विचार गर्दा शरीरमा स्वास संचालन, रक्त संचालन र स्नायु संचालन ठीकसँग हुन पुग्छ र अनिन्द्राको समस्या सजिलै समाधान हुन्छ । अहिले कोभिड १९ समस्याको समाधान पनि रोग प्रतिरोधात्मक क्षमता बढाउंनु नै हो त्यसको लागि पनि गाढा निद्राको आबश्यक पर्दछ ।
(डंगोल योग तथा उचित आहार बिहार विचार प्रशिक्षक हुन्)