काठमाडौं । नेपाल प्रहरीमा भावी आइजीपी तयार गरिन लागिएको छ । यसका लागि दरबन्दी सृजना गरी माथिल्लो पदबाटै बढुवा सुरु भएको छ । एकजना एआइजीको दरबन्दी थपेर विगतमा विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । बढुवासँगै हालका आइजीपी शैलेश थापा क्षेत्रीपछि आगामी वर्ष पोखरेल आइजीपी बन्नेमा ढुक्क थिए । तर, फेरि अर्को एआइजीको दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गरिएको छ । थापा पोखरेलको प्रतिष्पर्धी देखिएका छन् । अब अहिलेकै नियमावली अनुसार अर्को वर्ष पोखरेल र थापामध्येबाट एकजना आइजीपी बन्ने निश्चितप्रायः छ । मैदानमा एक्ला पोखरेललाई थापाको चुनौती देखिएको छ ।
सहकुल थापाको बढुवापछि प्रहरीमा प्राविधिकसहित दुई डिआइजी पद रिक्त भएको छ । बढुवाका लागि एसएसपीहरुको दौडधूप चलेको छ । बढुवामा जस्ले बाजी मार्छ ऊ नै २० महिनापछि आइजीपी बन्ने सम्भावना बलियो हुने भएकाले एसएसपीहरुको दौडधुप बढेको हो । प्राविधिकतर्फको डिआइजी पदसमेतलाई प्रशासनमा ल्याएर दुईजनाको बढुवा गर्ने गृह मन्त्रालयले तयारी गरेको छ । एकजना अघिल्लो ब्याची र अर्को पछिल्लो ब्याची गरेर बढुवाको तयारी भएको बुझिएको छ तर, प्राविधिकतर्फ नै बढुवा गरेर प्रशासनतर्फका एकजनालाई डिआइजी बढुवा गर्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा २० महिनापछि हुने आइजीपी बढुवा सुनिश्चित हुने गरी एसएसपीमध्येबाट एकजनालाई बढाइन लागिएको छ ।
डिआइजी बढुवाको सम्भावितमा दिपक थापा, उमेशराज जोशी र टेकप्रसाद राईको सम्भावना बलियो छ । थापा वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीसँग नजिक छन् । उनी भक्तपुरका हुन् । गृहसचिव र आइजीपी भक्तपुरका भएकाले पनि दिपक थापालाई नै बढाउन खोजिएको प्रहरीभित्र चर्चा छ । पूर्वआइजीपीहरुसँग पनि दिपक थापाको सुमधुर सम्बन्ध थियो । उनी एसपी हुँदा नै आकर्षक ठाउँमा परेका थिए ।
उमेशराज जोशी र टेकप्रसाद राईको पनि शक्तिकेन्द्रमा राम्रो पहुँच छ । श्यामलाल ज्ञवाली पूर्वआइजीपी ठाकुरप्रसाद ज्ञवालीका भाई हुन् । काठमाडौं प्रहरी प्रमुख अशोक सिंह र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य पनि दौडमा छन् । डिआइजी बढुवाको दौडमा भीमप्रसाद ढकाल, वसन्तबहादुर कुँवर, टेकबहादुर तामाङ, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ, रामदत्त जोशी, मिरा चौधरी पनि छन् ।
असारभित्रै बढुवा गर्ने गरी तयारी भएको छ । आकांक्षी धेरै भएकाले केही दरबन्दी बढाएर भएपनि बढुवा गर्नेबारे समेत छलफल भएको बुझिएको छ । तर, भावी आइजीपीको दौडमा आफ्नालाई ल्याउन यो बढुवा हुन लागेकाले एक वा दुईजनालाई मात्र डिआइजी बनाएर सुनिश्चित बनाउन खोजिएको छ । प्रहरीमा आइजीपी शैलेश थापा क्षेत्रीपछि विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना आइजीपी बन्ने निश्चितप्रायः छ । त्यसपछि आइजीपी को बन्ने यसपटकको डिआइजी बढुवाबाट तस्बिर प्रष्ट हुनसक्छ । यसैले अबको बढुवामा बाजी मार्न एसएसपीहरु दौडधूप गरिरहेका छन् ।