बिनोद चौधरीलाई धक्कै धक्का

17.4k Shares

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनौद चौधरीको व्यवसायिक साम्राज्य धराशाही हुँदै गएको छ । देशभित्र उनको सबै व्यवसाय चौपट हुँदै गएको छ । चौधरीको उत्पादनमध्ये चाऊचाऊ ब्रान्ड प्रतिष्पर्धा चर्को भएपछि समस्यामा पर्दै गएको छ । उनले खोलेको सिमेन्ट उद्योग पनि घाटामा छ । नेबिल बैंकलाई समेत चौधरीले विदेशमा पैसा लाने अस्त्र बनाएका छन् । त्यहाँ पूर्वराजा वीरेन्द्र शाहको सम्पत्ति नेपाल ट्रष्टमा गएपछि शेयरका रुपमा छ । चौधरीले यूरोपमा कम्पनी खोलेर त्यसको लगानी हो भन्ने देखाएर मुनाफा भन्दै रकम लाने गरेका छन् । त्यसमा पनि राष्ट्र बैंकको चासो छ । तर, शक्ति केन्द्रमार्फत् दबाब दिएर चौधरी कारबाहीबाट बच्दै आएका छन् । 
चौधरीले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री आएपछि खुबै प्रभाव देखाउन खोजे । तर, उनलाई मोदी सरकारले एकपछि अर्को झड्का दिएको छ । उनको कम्पनीमाथि कर छलीको कारबाही चलेको छ । यसले उनको दक्षिणसँगको सम्बन्ध चिसिएको सन्देश गइसकेको छ । उनी उत्तरी छिमेकी चीनसँग मिलेर टेलिकम क्षेत्रमा लगानी गर्न खोज्दै थिए । नेपालमा टेलिकमको लाइसेन्स लिने र विदेशी कम्पनी ल्याएर शेयर लिने उनको योजना तुहिइसकेको छ । चौधरीले टर्कीको कम्पनीको लगानी भित्राउन खोजेका थिए । तर, उनको सीजी टेलिकमको लाइसेन्स खारेज भएपछि झड्का लागेको छ । 
अहिले चौधरी एकपछि अर्को संकटमा फस्दै गएका छन् । उनले सञ्चालन गरेका विभिन्न व्यवसायले कर छलीदेखि देशको रकम विदेश पु¥याइरहेको खुल्दै गइरहेको छ । अन्य व्यापारमा समस्या आउन थालेपछि उनी टेलिकम क्षेत्रमा हात हाल्न चाहन्थे जुन असफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रा.लि.को नविकरण नभएपछि स्वतः रद्द गरिदिएको छ । सिजी कम्युनिकेशनको लाइसेन्स नवीकरण नै भएन । नवीकरणका लागि निर्वाण चौधरी खुबै धाए तर सफल हुन सकेनन् । निर्वाणको गतिविधिका कारण पनि चौधरी ग्रुपलाई धक्का लागेको छ अहिले । 
निर्वाण चौधरी पछिल्लो समय निकै चीनतर्फ दौडधूप गरी नयाँ लगानी भित्राउन खोजेका थिए । त्यो सफल नभएपछि उनी पुनः भारतका व्यवसायीसँग हिमचिम बढाउन गतिविधि गरिरहेका छन् । काठमाडौंमा सेमिनार पनि गरेका छन् । तर, त्यो सेमिनार झुक्याउनका लागि मात्र गरिएको खुलिसकेको छ । पछिल्लो समय नेपालका अर्बपतिहरुको चीनसँग व्यवसायिक सम्बन्ध बढिरहेको छ । तर, देशले कुनै ठूलो उपलब्धि भने हासिल गरिरहेको छैन । उल्टै विदेशी कम्पनीले नेपालबाट लाभ लिइरहेका छन् । 
चौधरीको विदेशमा रहेको धन पनि पूर्वराजा वीरेन्द्र शाहको थियो भन्ने तथ्यहरु खुल्दै गएको छ । उनले पूर्वराजा वीरेन्द्र शाहसँग विशेष सम्बन्ध राखेका थिए । त्यसबाहेक पञ्चायतकालमा शक्तिमा आउने कतिपयको समेत धनको व्यवस्थापन उनैले गर्दथे । तर, चौधरीका कतिपय चालहरु खुल्दै गएपछि उनी समस्यामा पर्दै गएका छन् । उनी निकै संकटमा पर्दै गएका छन् । कुनैबेला प्रभावशाली उद्योगी चौधरी अहिले एकपछि अर्को समस्याको जञ्जालमा परेका छन् । उनी राजनीतिमा लागेर चुनाव जित्न त सके तर व्यवसायिक असफलताहरुको सामना गरिरहेका छन् । कुनैपनि बेला उनको व्यवसायिक साम्राज्य ढल्नसक्ने विश्लेषणहरु गरिएको छ । 

सम्बन्धित समाचार