साइबर अपराध बढ्नु चिन्ताजनकः मन्त्री शर्मा

17.1k Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा भएको तीव्र विकासले महिला हिंसा बढ्नु चिन्ताजनक विषय रहेको बताएकी छिन्।प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको लागि आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय एडभान्स पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा उनले साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिइन्।महिला हिंसाको स्वरूप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनीकरण गर्न पत्रकार महिलाहरूले समेत भूमिका खेल्नुपर्ने धारणा राखिन्।सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको, भ्रमपूर्ण सूचनाको खेती भइरहेको भन्दै यसबाट जोगिन सञ्चार साक्षरताको लागि सरकारले कार्यक्रम बनाउने बताइन्।

तालिम उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले निर्धक्क भएर कलम चलाउन पत्रकार महिलाहरूलाई आग्रह गरे।प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर वेल्वासे, कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य लगायतका वक्ताहरुले सम्वोधन गरे।तालिम संयोजक तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले गरेका थिए।तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २० जना पत्रकार महिलाहरूको सहभागिता रहेको छ। तालिम तीन दिन सम्म चल्ने छ। तालिमको प्रशिक्षकहरुमा दुर्गा भण्डारी पौडेल, विपुल पोख्रेल, ठाकुर वेल्वासे, दुर्गालाल केसी, अमृता अनमोल, झविन्द्र भुसाल रहेका छन्।

सम्बन्धित समाचार