कोरोना संक्रमणबाट मृत्यु भएकाको व्यवस्थापन गर्दै पशुपति आर्यघाट

18k Shares

काठमाडौं । पशुपति आर्यघाटमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको शव ल्याइने क्रम बढेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दैनिक २६ वटासम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको शव ल्याइने गरेको छ ।
आइतबार एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमणका कारण ज्यान गुमाएका २६ जनाको शवको अन्तिम संस्कार गरिएको पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा. प्रदीप ढकालले जानकारी दिए ।
“आइतबार हामीले अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन कोरोनाबाट ज्यान गुमाएका २६ शवको अन्तिम संस्कार गर्यौं,” सदस्य सचिव डा. ढकालले बाह्रखरीसँग भने, “सबैभन्दा कम आएका दिन पनि १३ वटासम्म शव जलाउन ल्याइने गरेको पाइएको छ ।”
अघिल्लो पटक कोरोना संक्रमण हुँदा सबैभन्दा धेरै एकैदिन १५ वटासम्म शव आर्यघाटमा ल्याइने गरेको उनले जानकारी दिए ।
शवको संख्या थपिने क्रम बढेपछि विद्युतीय शव दाह गृह बाहिर पनि चिता बनाएर जलाउन थालिएको उनले बताए ।
“अहिले विद्युतीय शव दाह गृह बाहिर चिता बनाएर पनि कोरोनाबाट ज्यान गएकाहरुको शव जलाउन थालिएको छ । यो ज्यान गुमाउनेका आफन्तहरुको चाहना अनुसार नै गरिएको हो,” सदस्य सचिव डा. ढकाल भन्छन्, “विद्युतीय शव दाह गृहमा जलाउन नभ्याएर त होइन । तर, केही समय कुर्नु पर्ने भएकाले आफन्तजनको चाहना अनुसार नै बाहिर जलाउन थालिएको हो ।”
पालोमा बसेर विद्युतीय शव दाह गृहमा जलाउन सकिने भए पनि मृततका आफन्तले कुर्न नचाहने भएकाले बाहिर चिता बनाएर जलाउन थालिएको उनको भनाइ छ । विद्युतीय शव दाह गृहमा शवको प्रकृति हेरेर ४५ मिनेटदेखि सवा घण्टासम्म लाग्ने गर्छ । बाहिर चितामा भने कम्तीमा दुई घण्टा लाग्ने गरेको उनी बताउँछन् ।
मेडिकल साइन्सले पनि शव जलाउँदा आउने धुँवाबाट कोरोना संक्रमण हुँदैन भन्ने पुष्टि भइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
पछिल्लो केही समयकै अनुपातमा कोरोना संक्रमितका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अवस्थामा भने विद्युतीय शव दाह गृहले मात्रै धान्न नसक्ने र बाहिर चिता बनाएर नै जलाउनु पर्ने अवस्था आउने सदस्य सचिव ढकाल बताउँछन् । सोमबार देशभर कोरोनाका कारण ३७ जनाको मृत्यु भएको थियो ।
उनले कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको शव निःशुल्क जलाइने गरेको स्पष्ट पारे । “हामीले नेपाली सेनासँग सहकार्य गरेर शव जलाएको पैसा मृततका आफन्तसँग लिने गरेका छैनौं,” उनले भने ।

 

सम्बन्धित समाचार