काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा हालसम्म तीनवटा राष्ट्रले मात्र एक खेल पनि नहारी उपाधि जित्ने कीर्तिमान बनाएका छन् । हालसम्म वेस्ट इन्डिजले दुई, अस्ट्रेलियाले दुई र श्रीलंकाले एकपटक अपराजित रहँदै विश्वकपको उपाधि चुमेका छन् ।आफूले खेलेका सबै खेल जितेर विश्वकपको उपाधि चुम्ने राष्ट्र भने वेस्ट इन्डिज र अस्ट्रेलियामात्र हुन् ।अस्ट्रेलियाले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको उपाधि उचालिसकेको छ ।यसैगरी श्रीलंकाले सन् १९९६ मा अपराजित रहँदै विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला श्रीलंकाले समूहगत चरणमा पाँचवटै खेल जितेको थियो । तर, त्यतिबेला सुरक्षाको कारण देखाउँदै अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकामा खेल्न अस्वीकार गरेका थिए ।
त्यसैले यी दुबै राष्ट्रबाट श्रीलंकाले ‘वाक ओभर’ पाएको थियो । त्यसपछि श्रीलंकाले क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएको थियो । श्रीलंकाले त्यो विश्वकपको सेमिफाइनलमा भारतलाई र फाइनलमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।