काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण बढेपछि काठमाडौैं उपत्यकामा आज बिहान ६ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरूको निर्णयअनुसार सुरुमा एक हप्ताका लागि अर्थात् वैशाख २२ गते राति १२ बजेसम्मका लागि ‘लकडाउन’ गरिएको हो । कडाइसाथ निषेधाज्ञा लागू गराउन बिहानैदेखि प्रहरी सक्रिय भएको छ। त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेका छन्।
काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरकाा ४ स्थानमा चेकजाँच भइरहेको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए । निषेधाज्ञा कार्यन्वयनका लागि ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । नियम उल्लंघन गर्ने सवारीसाधान तथा सर्वसाधारणलाई प्रहरीले कारबाही गरिरहेको छ ।
प्रहरीका अनुसार बिहान १० बजे अगाडिसम्म ५ सयभन्दा बढी व्यक्ति कारबाहीमा परिसकेका छन् । काठमाडौंमा २ सय ९ जना, ललितपुरमा २ सय १७ र भक्तपुरमा १ सय ७ जनालाई सडकमै केहीबेर उभ्याएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यस्तै १७७ दुईपांग्रे र ४१ वटा चारपांग्रे सवारीसधानलाई पनि प्रहरीले निन्त्रणमा लिएको छ।