काठमाण्डौ – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।
यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।
हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् ।
ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।