काठमाडौं । सोझा सिदा नेपालीलाई विभिन्न प्रलोभनमा पारी भारत लगेर मृगौला निकालेर बेच्ने गिरोहका नाइके पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगायतका जिल्लामा गई सोझा सिदा जनतालाई प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने सो गिरोहबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पु¥याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको सो पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
सो समूहका मुख्य नाइके भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।
उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पु¥याउने गरेको खुलेको छ । उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।