सर्लाही । सर्लाहीका नाकाबाट तस्करी रोकिएको छैन । चाडपर्व नजिकिएसंगै सर्लाहीका नाकाहरूबाट भएको तस्करी झनै बढेको छ । जिल्ला प्रहरी कार्यलयका एसपी नरेश सुबेदीले तस्करीको लाइन नदिएपनि सीमावर्ती क्षेत्रका थाना चौकीका कार्यरत प्रहरीले तस्करी धन्दा चलाउन सहयोग गरिरहेका छन् । जसको कारण तस्करी धन्दा केही दिन यता सर्लाहीका केही नाकाबाट व्यापक तस्करी धन्दा चलेको छ । मधुवनी, अर्नाहा, बलरा र बहादुर नाकाबाट तस्करी धन्दा व्यापक चलेको छ ।यी नाकाबाट तस्करी भएको सामान बरहथवामा ल्याएर तस्करहरूले गोदाम गर्ने र बील बनाई अन्यत्र पठाउने गरिरहेका छन् ।
अहिले यी नाकाबाट तस्करी गरेर बरहथवामा सामान ल्याई गोदाम गर्ने गरि लाइन पाउनेहरूमा बिनोद साह, श्याम साह, राजिव, नथुनी, धनलाल कनैह्या, सरोज, रामअयोध्या, बिक्रम, बिनय, धर्मेन्द्र कुशवाह कमलेश, अरबिन्द साह र संजय मुख्य छन् । यिनीहरूले प्रहरी सेटिङ भए पछि पिकअपबाट नै सामानको तस्करी धन्दा गरिरहेका छन् । यी कारोबारीहरूसंग सेटिङ मिलाउने सबै काम इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा सहायक हवल्दार जितु भन्ने जित नारायण यादवले गरिरहेका छन् । इप्रकाका डिएसपी लिलाराज लामिछानेले यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । मधुवनी, अर्नाहा, बलरा र बहादुरपुर नाकाबाट तस्करी भएको सबै सामान बरहथवामा आउने गर्छ । यी कारोवारीहरूसँग आर्थिक लेनदेनको काम यिनै घुमुवा जित नारायण यादवले गर्दै आएका छन् । तीनपटकसम्म गरेर सात बर्ष देखि जित नारायण बरहथवा इप्रकाको घुमुवाको रूपमा कार्यरत छन् । उनले असुली धन्दाको बारेमा प्रदेश प्रहरी र प्रहरी मुख्यालय सम्म गुनासो र उजुरी परेपनि कुनै छानबिन नभएको सोही इप्रकाका जुनियर अफिसरहरू बताउँछन् ।
यसरी भैरहेछ सर्लाहीको नारायणपुरबाट तस्करी
सर्लाहीको नारायणपुर नाकाबाट केही दिन यता व्यापक तस्करी धन्दा शुरू भएको छ । हिन्दुहरूको ठूला चाडपर्व नजिकिएसंगै यस्तो तस्करी धन्दा शुरू भएको हो । मुख्य नाकाबाट तस्करी भएको समाचारहरू धेरै आउन थालेपछि अहिले तस्करहरूले अरू नाकाहरू प्रयोग गरेर तस्करी धन्दा गर्न शुरू गरेका छन् । नारायणपुर नाका अहिले तस्करहरूको लागि सबैभन्दा सुरक्षित र सजिलो भएको छ ।नेपाल प्रहरीको सहयोग र संरक्षणमा यहाँबाट यस्तो तस्करी धन्दा हुदै आएको स्थानीय व्यवसायीहरू बताउँछन् । अहिले यो नाकाबाट सबैभन्दा बढी काजु , कपडा र भारतीय कुखुराको ठूलो तस्करी हुदै आएको छ । सन्तोष साहले ठूलो मात्रामा काजुको तस्करी गर्दै आइरहेका छन् । उनले दैनिक लाखौं लाखको काजु भन्सार नतिरी तस्करी गरिरहेका छन् ।त्यसैगरी भारतको इनर्वा गाउँ घर भएका विजय साह र पुकार यादवले ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल र कहिलेकाही पिकअप प्रयोग गरेर समेत कपडाको तस्करी गरिरहेका छन् । यसबाहेक भारत वथवारा घर भएका उमेश ठाकुरले पनि ठूलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।भण्डारी भनेर चिनिने व्यापारीले त बाहिर फूलको व्यापार देखाएर कपडाको ठूलो तस्करी गरिरहेका छन् । यसबाहेक भारतीय नागरिक धर्मेन्द्र र हिरनले कस्मेटिकको ठूलो तस्करी गरिरहेका छन् । सहेमुल्लाह समेतका तीन जनाले पिकअपमा नै खसिबोकाको ठूलो तस्करी यसै नाकाबाट गरिरहेका छन् ।
यो तस्करी धन्दामा स्थानीय प्रहरी चौकीका प्रमुख असई रामबिश्वास पटेलको संरक्षण र सेटिङ रहेको स्थानीय व्यावसायीहरू बताउँछन् । यसबाहेक यो नाकाबाट ठूलो मात्रामा भारतीय कुखुराको तस्करी हुदै आएको छ । भारतको सोहार्वा गाउँमा बिरेन्द्र यादवको कुखुराको ठूलो सेल फार्म रहेको छ ।त्यही होलसेलबाट सीमावर्ती क्षेत्रमा बस्ने नेपालीहरू उपेन्द्र साह , रामेश्वर साह , रामबीर पल्धारी र अरविन्द साहले भारतीय कुखुरा तस्करी गरि नेपाल भित्र्याउने काम गर्दै आएका छन् । भारतीय कुखुरा नेपाल भित्र्याउने र नाम मात्रको कागजी दर्ता रहेका फार्ममा पालेको कागज बनाउने र क्वारेन्टाइनको सेटिङमा कागज बनाई अन्यत्र लैजाने काम हुदै आएको छ। अरबिन्द साहले भारतबाट कुखुरा ल्याउने र नेपालबाट रक्सी भारत पठाउने दोहोरो धन्दा पनि गरिरहेका छन् ।यो नाकाबाट सर्लाहीमा ठूलो भारतीय कुखुराको तस्करी धन्दा हुदै आएको छ । नारायणपुर चौकीका असई पटेल तिनै व्यक्ति हुन जो यसअघि पर्सा प्रहरी चौकीमा प्रमुख हुदा काण्ड लागेर एक महिनामा नै हटाइएका थिए ।