अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

848 Shares

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । 

सनराइज पिक्चरले फिल्मको प्रचार अभियान सुरु गर्दै पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो । 

करिब एक मिनेट आसपासको टिजरले फिल्मको कथा भने खुलस्त गर्दैन, बरु त्यसको परिवेश, पात्र र प्रेमकथाका केही दृश्य देखाउँदै कौतुहलता बढाउने प्रयास गरेको छ ।

‘बाटुलो जून’को कथा अहिलेको समयभन्दा धेरै पछाडि पुग्छ । ३० को दशकको सामाजिक परिवेशमा आधारित फिल्मले त्यति बेलाको प्रेम, जीवनशैली र सामाजिक सोचलाई कथाको आधार बनाएको छ । 

मोबाइल, सामाजिक सञ्जाल र प्रविधिले प्रेमको शैली नै बदलिएको वर्तमान समयभन्दा फरक, फिल्मले त्यो समयको सरल र भावनात्मक प्रेमलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

फिल्मको निर्देशन भुवन केसीले गरेका हुन् । ‘ड्रिम्स’मा आधुनिक प्रेमकथा प्रस्तुत गरेका भुवन यसपटक आफ्नै अभिनय यात्रासँग जोडिएको समयतर्फ फर्किएका छन् । उनी स्वयं पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने प्रिन्सी खतिवडाले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछिन् । बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यसै फिल्ममार्फत नेपाली सिनेमामा पुनरागमन गर्दैछिन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ । जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माता छन् । 

राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको ‘बाटुलो जून’ले पुरानो समयको प्रेमलाई नयाँ पुस्ताले कत्तिको रुचाउँछ भन्ने चासो पनि बढाएको छ ।

सम्बन्धित समाचार