एमालेमा तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याउने शर्त

18.9k Shares

काठमाडौं । नेकपा एमाले न मिल्न सक्छ न जुट्न । एमाले अनिर्णयको बन्दी भइरहँदा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको विकल्प खोज्ने प्रयास पनि भइरहेको छ । तर, त्यो सफल हुन सकेको छैन । एमालेमा जसरी पनि ओलीलाई हटाउन नेपाल लागेका छन् । तर, सकिरहेका छैनन् । तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर महाधिवेशनमा जानेसम्मको सर्त नेपालको छ । तर, यसमा ओली सहमत भएका छैनन् । 
एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफल गर्न चाहेपनि वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छैनन् । उनले ओलीमाथि अलमलाउन मात्र खोजेको आरोप लगाइरहेका छन् । ओली भने विभिन्न शर्त र प्रस्ताव सारेर माधव नेपालसँग राजनीतिक लेनदेन गर्न खोजिरहेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीसँग निकट केही नेताहरुले नेता नेपालले विभिन्न माध्यमले कुराकानी गर्दै आएका छन् । उनले एमाले एकताका लागि केही विकल्पहरु समेत सारेको बुझिएको छ । 
माधव नेपालले ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् । अध्यक्षबाट ओली हटेर तेस्रो व्यक्तिलाई कार्यवाहक अध्यक्ष बनाएर जान सकिने शर्त राखेको बुझिएको छ । कार्यवाहक अध्यक्षमार्फत् एमालेको दशौं महाधिवेशन गर्न सकिने प्रस्ताव सारेका छन् । तर, २ जेठ २०७५ सम्मको संगठित सदस्यलाई नै मानेर महाधिवेशनमा जानुपर्ने उनको शर्त छ । दोस्रो विकल्पमा एमालेमा समान हैसियतमा ४ जनाको अध्यक्षमण्डल राख्न सकिने विषय छ । अध्यक्ष ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसहितको अध्यक्ष मण्डल बनाएर जान सकिनेबारे पनि नेपालले प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार समान हैसियतको अध्यक्षमण्डल बनाएर २ जेठ २०७५ को पार्टी संगठनलाई नै टेकेर महाधिवेशनमा जान सकिने विषय नेपालपक्ष पुगेका छन् । 
एमालेको ४ लाखभन्दा बढी संगठित सदस्य नवौं महाधिवेशनमा भएकामा ओलीले पछिल्लो समय झण्डै २ लाख थपिसकेको भन्दै नेपाल पक्ष त्यसलाई मानेर महाधिवेशनमा जान तयार छैन । पुरानै संगठित सदस्यको आधारमा महाधिवेशनमा जाने भएमात्र नेपाल पक्ष तयार छ । तर, नेपालले राखेको शर्त र प्रस्तावलाई ओलीले मान्ने सम्भावना क्षीण छ । उनी कुनै हालतमा अध्यक्ष छाड्न तयार छैनन् । माधव नेपाललाई मात्र दोस्रो अध्यक्ष दिन तयार छन् । समान हैसियत नेपाललाई समेत दिन तयार नहुँदा खनाल र गौतमलाई अध्यक्षमण्डलमा राखेर जान कुनै हालतमा नमान्ने निश्चितप्रायः छ । यसकारण पनि एमालेको औपचारिक विभाजनको सम्भावना बढेर गएको छ । सम्भवतः अर्को हप्ताभित्र एमालेको वार पार हुने देखिँदैछ । 
गुट छाडेकालाई तान्दै नेपाल
गुट छाडेर गएका सांसदहरुलाई पक्षमा पार्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनीपक्षधर नेताहरु पछिल्लो समय निकै सक्रिय भएका छन् । उनीहरु आफ्नो पक्षमा जतिसक्दो बढी सांसद र केन्द्रीय सदस्य बनाउन सक्रिय भएका हुन् । नेता नेपाल जतिसक्दो छिटो एमालेमा वार कि पारमा लागेका छन् । उनले सकेसम्म ओलीलाई अल्पमतमा पार्ने प्रयास गरिरहेका छन् । त्यसका लागि उपाध्यक्ष बामदेव गौतम सक्रिय छन् । गौतमले सांसद र केन्द्रीय सदस्यहरुलाई धमाधम तान्ने प्रयासलाई बढाइरहेका छन् । विगतमा आफूसँग निकट रहेर ओली गुटमा लागेकालाई गौतमले भेटेरै साथमा ल्याउन खोजिरहेका छन् । 
नेपाल र गौतमको निकै प्रयासका बाबजुद पनि ओलीलाई संसदीय दल र केन्द्रीय कमिटीमा अल्पमतमा पार्न नसकिने अवस्था देखिएको छ । अन्तिम समयसम्म कोशिश गर्ने नसके ४० प्रतिशत पु¥याएर अगाडि बढ्ने तयारी समेत गरेका छन् । त्यसो पनि नपुगे दल विभाजन सजिलो बनाउने राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ । जे जस्तो परिस्थिति भएपनि नेपाल र गौतम ओली गुटमा लागेका बढीभन्दा बढी सांसद तान्न सक्रिय छन् । आफूसँग असन्तुष्ट पार्टी उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतलाई कन्भिन्स गर्ने माधव नेपालको प्रयास चलिरहेको छ । तर, रावल फर्कनेमा नेपाल विश्वस्त हुन छाडेका छन् । पाण्डेलाई भने फर्काउने उनको प्रयास बढी छ । 
रावल नआएपनि ४० प्रतिशत सांसद पुग्ने दाबी माधव नेपाल पक्षको छ । विगतमा आफ्नो पक्ष छाडेका केही सांसदहरुतर्फ नेपालको ध्यान खिचिएको छ । झण्डै साँढे ३ वर्ष एमाले सरकार हुँदा मन्त्री बन्न नपाएर असन्तुष्ट बनेकालाई सम्झाएर तान्ने प्रयास पनि नेपालले गरिरहेका छन् । माधव नेपालले देउवा सरकारमा ८ मन्त्रालय पाउने चर्चा छ । त्यसले पनि कतिपय सांसदहरु आकर्षित हुने सम्भावना छ । नेपाल पक्ष सबै अस्त्र फालेर सांसद तान्न सक्रिय छ । उनलाई बामदेव गौतमको भरोसा छ । गौतमले पनि आक्रामक ढंगले लागेका छन् । 
भीम रावललाई च्याप्ने ओलीको रणनीति
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पूर्ण साथ छाडेर तटस्थ भूमिकामा रहेकाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर साथमा लिने रणनीति बनाइसकेका छन् । उपाध्यक्ष भीम रावलले एमालेमा विशेष जिम्मेवारी पाउन सक्ने बुझिएको छ । माधव नेपाललाई छाडेर उनी पक्षका हस्तीहरुलाई तान्ने गरी ओली लागेका छन् । 
रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यलाई विशेष जिम्मेवारीको प्रस्ताव पुगेको बुझिएको छ । रावलले पनि नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । उनलाई सार्वजनिक रुपमै नेपालले व्यङ्ग्य गरिसकेका छन् । प्रचण्डले पनि रावललाई कडा प्रहार हुनेगरी अभिव्यक्ति दिएका छन् । रावल ओली पक्षमा पुगिसकेको संकेतका रुपमा यसलाई बुझिएको छ । 
रावल ओली पक्षमा पुगेपछि बामदेव गौतम भने माधव नेपाल पक्षमा देखिएका छन् । गौतमलाई पनि पेल्ने ओलीको रणनीति देखिएको छ । नेपाल र गौतमलाई छाडेर ओलीले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतलाई स्थान दिन लागेका छन् । माधव नेपालले भने रावलसहितका नेताहरु नआएपछि बामदेव गौतमको सहयोगमा ३० भन्दा बढी सांसद आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । उनी त्यस अनुसार बाटो बनाउन लागिपरेका छन् । सम्भवतः यसै हप्ता एमाले विवादको टुंगोको चित्र स्पष्ट हुन सक्छ । यसबारे नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पाल्पा पुगेर पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेर संकेत गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने समेत बताएर एमालेको राजनीति निर्णायक मोडमा पुगेको संकेत गरेका हुन् । 
 

सम्बन्धित समाचार