पाँचौँ वर्षमा अन्नपूर्ण केबलकार, निःशुल्क स्वास्थ्य शिविरसहित सञ्चालन

7.1k Shares

पोखरा– अन्नपूर्ण केबलकार लिमिटेड चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसर पारेर कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कम्पनीले स्त्रीरोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरेको थियो। स्वास्थ्य शिविरबाट ४८ जना लाभान्वित भएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीलाई सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोट मा सञ्चालनमा रहेको केबलकारले सूर्योदयदेखि साँझसम्म सेवा दिँदै आएको छ। करिब ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका दृश्य अवलोकन गर्न सकिने कम्पनीको दाबी छ।

प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि कम्पनीले विशेष सहुलियत उपलब्ध गराउँदै आएको छ। साँझ ५ बजेदेखि ८ बजेसम्म प्रति टिकट २५० रुपैयाँमा सेवा दिइँदै आएको छ। 

लेकसाइडदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनबाट आउने यात्रुका लागि समेत स्टेशनसम्म आउने–जाने सुविधा मिलाइएको कम्पनीले जनाएको छ।

वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक कार्यक्रमले कम्पनीको सामाजिक प्रतिबद्धता झल्काएको भन्दै स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्।

यसैबीच, कम्पनी आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको जनाएको छ। सञ्चालक चन्दबहादुर कार्कीका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै अनलाइन टिकट बुकिङ तथा केबलकारसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध हुने मोबाइल एप सार्वजनिक गर्ने तयारी भइरहेको छ।

सम्बन्धित समाचार