कञ्चनपुर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला बीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् ।
महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा महाकाली किनारमा पहिलो पटक बीच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ बनाउन तथा खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुर्याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने छ । द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिनेछ । यसैगरी भेट्रान (चालिस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् ।