प्रधानमन्त्रीमा प्रकाशमानको दाबी, देउवालाई चुनौती

24.1k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विभाजनले उत्पन्न परिस्थितिले नेपाली काँग्रेसले प्रधानमन्त्री पाउने अवस्था सृजना भएको छ । नेकपाको दुवै समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर भएपनि आफ्नो पल्लाभारी बनाउन खोजेका छन् । तर, देउवा अहिले पर्ख र हेरको अवस्थामा छन् । नेकपा कानुनी रुपमा विभाजित नभएकाले देउवा त्यो पर्खाइमा बसेका छन् । तर, कतिपयले अझै नेकपा एक हुने सम्भावना औल्याइरहेका छन् । त्यस्तो अवस्थामा देउवालाई ठुलो राजनीतिक धक्का पर्न सक्छ । 
काँग्रेसबाट प्रधानमन्त्री बन्ने परिस्थिति बनेमा पनि देउवालाई सजिलो भने छैन । उनलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिने भइसकेका छन् । सिंहले अब आफू प्रधानमन्त्रीको दाबेदार भएको बताइसकेका छन् । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा खरो रुपमा सिंह उत्रिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गराउने कदमको आलोचना गर्दै आएका थिए । तर, त्यसको ठिक विपरित देउवा मध्यावधि चुनावमा रटान लगाइरहेका थिए । उनले ओलीसँग मिलेर संसद विघटनको पक्षमा साथ दिएको खुलिसकेको छ । ओलीसँग मिलेर उनले संवैधानिक निकायको नियुक्तिमा भागवण्डा पाए । सासु प्रतिभा राणालाई जापानका लागि राजदूतमा फिर्ता बोलाउनबाट रोक्न सके । उनको ओलीसँगको भित्री साँठगाँठ छताछुल्ल भइसकेको छ । अहिले पनि देउवा ओलीसँगको भित्री साँठगाँठमै छन् । 
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन हुँदा अप्ठ्यारोमा परेका नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए । त्यहाँ उनीहरुले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा स्पष्ट उभिन आग्रह गर्दै प्रधानमन्त्री बन्न भविष्यमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तर, त्यतिबेला देउवा संसद विघटनको पक्षमा उभिएर चुनावमा जोड दिन पुगे । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको भोलिपल्टै प्रचण्ड र माधव नेपाल देउवा निवास पुगेर सत्ता समिकरणको प्रस्ताव गरे । तर, देउवाले पहिले नेकपाको विवाद कानुनी रुपमा टुंगो लाग्न दिनुपर्ने जवाफ दिएका थिए । स्वयं ओलीले दाहाल र नेपालतर्फ व्यङ्ग्य गर्दै देउवासँगको भेटबारे भनेका थिए, प्रभु प्रधानमन्त्री बनिदिनुप¥यो भन्न गएछन् । यसबाट पनि देउवा ओलीको साथमा रहेको बुझ्न सकिन्छ । 
यसैगरी, प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरी दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने निश्चित भएको छ । यसको अर्थ प्रचण्ड प्रधानमन्त्रीबाट ब्याक हुँदैछन् । अब प्रधानमन्त्री नियुक्त हुने व्यक्ति राजीनामा नदिएको अवस्थामा आवधिक चुनावसम्म रहन पाउनेछ । संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । आवधिक चुनाव भएको ३ वर्ष तीन महिना पूरा भइसकेको छ । यसको अर्थ अबको २१ महिनापछि चुनाव गर्नुपर्छ । नयाँ प्रधानमन्त्री नियुक्त हुने व्यक्ति अबको दुई वर्ष या अर्को चुनाव नभएसम्म प्रधानमन्त्री रहिरहन्छ । त्यसैले देउवाका लागि प्रधानमन्त्रीका अन्य प्रतिष्पर्धीले सजिलै छाड्ने सम्भावना कमजोर छ । 
देउवा जुन प्रतिनिधि सभाको अन्त होस् भन्ने उद्देश्यका साथ लागे यही कार्यकालको प्रतिनिधि सभाबाट उनी प्रधानमन्त्री हुन नहुने भन्दै देउवाइतर नेताहरु लागिसकेका छन् । यसकारण उनलाई संसदीय दलबाट चुनौती बन्न सक्छ । विशेषगरी प्रकाशमान सिंहले देउवाविरुद्ध संसदीय दलमा चुनौती दिने बुझिएको छ । विगतमा संसदीय दलको चुनाव हुँदा पनि देउवाविरुद्ध सिंह उम्मेदवार बनेका थिए । त्यतिबेलै उनले आफू देउवालाई टक्कर दिनसक्नेका रुपमा उभ्याएका थिए । 
अहिले अन्तर्राष्ट्रिय समुदायमध्ये उत्तर र दक्षिण देउवाप्रति विश्वस्त नभएको बुझिएको छ । देउवाप्रति दक्षिणको समेत विश्वास कम रहेको कारण उनलाई साथ मिल्ने सम्भावना कमजोर हुँदै गएको छ । हुन त भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई प्रतिनिधि सभा पुनःस्थापनापछि भेटिसकेका छन् । तर, देउवाको भूमिकाप्रति आशंकाहरु गर्न थालिएको छ । देउवा रणनीतिक रुपमा पनि कमजोर देखिएका छन् । काँग्रेसलाई कमजोर बनाएको आरोप देउवामाथि छ । यसकारण काँग्रेसको भावी नेतृत्व देखि संसदीय दलसम्म विकल्पहरु खोज्न थालिएको छ । 
 

सम्बन्धित समाचार