कोन्ज्योसोम गाउँपालिकामा किर्ते कागज खडा गरी जग्गा खरिदविक्रीमा ठूलै चलखेल

21.4k Shares

ललितपुर । आफ्नो अधिकार क्षेत्रभित्र नै नपरेको एउटा वडाको जग्गा अर्को वडाको वडाअध्यक्षले घरबाटो सिफारिस दिई जग्गा खरिदविक्री भएको पाइएको छ ।
ललितपुरको दक्षिणी भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ को दल्चोकीको कित्ता नम्बर ४७, ४८ र ९ ‘ग’ को १३ रोपनी जग्गा भूमाफियाहरुले किर्ते कागजात खडा गरी खरिद विक्री गरेको पाइएको हो ।


सो जग्गा कोञ्ज्योसोम गाउँपालिका वडा नं. ३ दल्चोकीको जग्गा वडा नं. २ का वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले आफ्नो पदको दुरुपयोग गरी घरबाटो सिफारिस दिई १३ रोपनी जग्गा मालपोत कार्यालय ललितपुरबाटै पास भएको छ । 


सो जग्गा खरिद विक्रीमा लाखौं रुपैयाँको आर्थिक चलखेल भएको बुझिएको छ । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे र जग्गा दलाली कृष्णप्रसाद घिमिरेको चलखेलमा सो जग्गा किर्ते गरी पास भएको स्थानीयले आरोप लगाएका छन् । सो जग्गा खरिदविक्रीको विषयलाई लिएर आफ्नो अधिकार क्षेत्रभित्र परेको जग्गाको विषयमा वडा नं. ३ का वडाअध्यक्ष तिलक बोम्जनले मालपोत कार्यालय ललितपुरमा बुझ्न खोज्दा मालपोत कार्यालय प्रमुख सुवर्ण बज्राचार्यले भेटसमेत नदिएको गुनासो खोजतलाससँग पोखेका छन् ।


आफ्नो एरियामा नै नपर्ने जग्गा कोन्ज्योसोम गाउँपालिका हाल कलंकी बस्दै आएका भूमाफिया कृष्णप्रसाद घिमिरेको आर्थिक लाभ लिई घरबाटो सिफारिस दिएपछि वडा नं. २ का वडा अध्यक्ष घिमिरेको विरोधमा कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष तिलक बोम्जनले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिने तयारी गरिरहेको बुझिन आएको छ । उक्त जग्गा किर्ते गरी खरिद विक्री भएको हल्ला गाउँपालिकाभरि फैलिएपछि वडाअध्यक्ष घिमिरे आफूले गरेको गल्ती र पद जोगाउन आफूनिकट नेताहरुको शरणमा पुगेको स्थानीयले बताएका छन् । जग्गा दलाल कृष्ण प्रसाद घिमिरे भने भूमिगत भएको र यो घटनालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो दिएको बुझिएको छ ।


यस किर्ते जग्गा खरिदविक्रीको विषयलाई लिएर ललितपुर सिडिओसँग बुझ्न खोज्दा उहाँ बसन्तपञ्चमीको कार्यक्रममा भएकोले पछि कुरा गर्ने बताउनुभएको छ ।

सम्बन्धित समाचार