कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक तोक्यो स्वास्थ्य मन्त्रालयले 

16.1k Shares

काठमाडौं, माघ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।
खोप अभियानलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि मन्त्रालयले सातवटै प्रदेशमा संयोजक तोकेको हो ।
भारत अनुदानमा दिएका १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन गर्ने बताएका छन् ।
मन्त्रालयले प्रदेश १ का लागि डा. तारानाथ पोखरेल, प्रदेश २ का लागि डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा. गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा. डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकेको छ ।
लुम्बिनी प्रदेशको संयोजकमा तोकिएका डा. विकास देवकोटाले काठमाडौंबाट प्रदेशमा खोप लाने, त्यहाँ सम्बन्धितलाई हस्तान्तरण गर्ने, जिल्लामा आवश्यकता अनुसार सुनिश्चित गर्ने, खोप केन्द्र हेर्ने लगायत समन्वयनको जिम्मेवारी आफूहरुले गर्ने बताए ।
भारतले दिएको कोभिसिल्ड खोप अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा राखिएको छ। त्यहाँबाट आवश्यक तयारी पूरा गरि एक दुई दिनमा खोप प्रदेशमा पठाउने तयारी सरकारको छ ।

सम्बन्धित समाचार