कालीकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– २ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बस सेरीघाट पुल नजिकै मोडमा अन्यन्त्रित भएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीले कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बर बस बस दुर्घटना हुँदा तीन जना घाइते भएको बताउनुभयो ।
उहाँले तत्काल घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाएको छ र उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका–४ बस्ने १९ वर्षीय अर्जुन बुढा रहेका छन् । यसैगरी, जुम्लाको सिँजा गाउँपालिका–५ बस्ने २३ वर्षीय रन्जिीता रोकाया र उहाँका पाँच वर्षीय छोरा उपेन्द्र रोकाया घाइते हुनुभएको छ । उहाँहरुको अहिले जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २४ जना यात्रु सवार थिए । अन्य यात्रु बसै सकुसल रहेका छन् ।