प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
केन्द्रमा नेकपाभित्र देखिएको विवाद प्रदेशमा पनि देखिन थालिएको छ । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । ईन्द्रबहादुर आङ्बोका अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो । संसदीय दलको चुनावमा २६ मत ल्याएका राईले आचार्यलाई दुई मतले हराएका थिए ।
आज मात्रै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको थियो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना छन् । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।