प्रचण्ड सरकार ढाल्न साइत हेर्दै देउवा

20.2k Shares

काठमाडौं । उपचारका नाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक हप्ता सिंगापुर बसेर फर्किएका छन् । उनको साथमा पत्नी आरजु देउवा पनि गइन् । देउवाले सिंगापुरमा महत्वपूर्ण राजनीतिक तथा व्यवसायिक भेटहरु पनि गरे । स्वदेश फर्किएको केही दिनमै आरजु फेरि जापान उडिन् । उनको दौडधूप अर्थपूर्ण छ । आरजुलाई प्रचण्ड नेतृत्वको सरकार कत्ति पनि चित्त बुझेको छैन । त्यसमाथि देउवालाई छैठौंपटक प्रधानमन्त्री बनाउन साइत जुराउन सक्रिय छिन् उनी । देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीको सक्रियता पनि बढेको छ । कार्कीले खुसुक्क एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सम्भावित समिकरण र प्रधानमन्त्रीको भद्र सहमतिबारे कुरा गरेका छन् । 
देउवा र ओलीबीच लगभग सहमति बनेपछि एमाले नेता महेश बर्तौलाले सरकारको दिनगन्ती सुरु भएको बताइसके । डा. बाबुराम भट्टराईले पनि सरकार ढल्ने भेउ पाएर संयुक्त सरकारको एजेन्डा उठाएका छन् । माधव नेपालले त ओलीले देउवालाई अबको चार वर्ष प्रधानमन्त्रीको ललिपप देखाएको खुलासा गरेका छन् । सबैतिरबाट सरकार नटिक्ने आशयको अभिव्यक्ति आइरहँदा बजेटप्रति सत्तारुढ दलका नेताहरुले नै असन्तुष्टि देखाउन थालेका छन् । बजेट पारित नगर्ने र सरकार ढाल्ने खेलहरु भित्र भित्र चलिरहेका छन् । 
सरकार ढाल्ने खेल रोक्न प्रचण्डले पनि आक्रामक रणनीति चालेका छन् । पशुपतिको जलहरी जोख्न अख्तियारको टोली पुगिसकेको छ । जलहरीमा केपी ओली, राधिका शाक्यका अलावा विद्यादेवी भण्डारीको पनि नाम लेखिएको विषय छताछुल्ल भइसकेको छ । यसले ओली र उनको दललाई ठूलै क्षति पुग्ने गरी खबरहरु बाहिर आइरहेका छन् । ठिक यसै बेला ललिता निवास प्रकरणको फाइल फेरि खुलाइएको छ । यो प्रकरणमा माधव नेपाल, डा. बाबुराम भट्टराईलगायत नेताहरु पनि मुछिएका छन् । विष्णु पौडेल पनि मुछिएको घटना भएकाले ललिता निवास प्रकरणलाई प्रचण्डले राजनीतिक अस्त्र बनाएका छन् । भुटानी शरणार्थी प्रकरणले एमालेलाई ठूलै असर पारेको छ । काँग्रेसका नेता बालकृष्ण खाँड पनि बदनाम भएका छन् । उनी कर्मलाई दोष दिएर जेलको हावा खाइरहेका छन् । 
खाँडको पक्राउले आरजु देउवा र मञ्जु खाँड पनि पक्राउ पर्ने चर्चा नचलेको होइन । यो प्रकरणबाट प्रचण्डले ठूलै राजनीतिक लाभ लिन सकेको विश्लेषण भएको छ । प्रचण्डले एकपछि अर्को काण्ड बाहिर ल्याएर सरकार ढाल्न खोज्ने जो कोहीलाई आच्छु आच्छु पारेका छन् । काँग्रेसभित्र प्रचण्डको प्रहारले ठूलै असर परेको विश्लेषण भइरहेको छ । यसकारण पनि सरकार ढाल्न देउवामाथि दबाब छ । ओली त झन् ठूलो प्रहार हुने भएकाले देउवालाई मागेको दिएर भएपनि सरकार ढाल्न आतुर छन् । तर, सरकार ढाल्न खोजे प्रचण्डले कठोर कदम चाल्ने भय देउवा र ओली दुवैलाई छ । उनीहरु रक्षात्मक र प्रचण्ड आक्रामक देखिएका छन् । 
प्रचण्ड सरकारमाथि खतराको बादल मडारिइरहँदा संसदको अंकगणितको हिसाब भइरहेको छ । संसदमा २७५ सांसदको व्यवस्था छ । काँग्रेसको ८८, नेकपा एमालेको ७८, माओवादी, नेकपा एस र जसपा सम्मिलित समाजवादी मोर्चाका घटक दलहरुको ५४, रास्वपाको २०, राप्रपाको १३ का अलावा साना दल र स्वतन्त्र सांसदहरु छन् । यो हिसाबले काँग्रेस र एमालेमध्ये कुनै एक दल सरकारको समर्थनमा नरहेसम्म कसैको बहुमत पुग्दैन । या त काँग्रेस र एमाले मिल्नुपर्छ या काँग्रेसले एमाले बाहेक बाँकी मझौला दलसँग मिल्नुपर्छ या एमालेले काँग्रेस बाहेकका मझौला दलसँग मिल्नुपर्छ । सत्ता समिकरण ६ महिना समेत नटिक्ने र नयाँ बन्ने क्रम चलिरहे देशमा कुनैपनि बेला ठूलै संकट आउनसक्छ । 

 

सम्बन्धित समाचार