ललितपुर । टिकाभैरवदेखि ठेचो सिभिल होमसम्म राजकुलो संचालनमा आए पनि केही दिनको अबिरल बर्षाका कारण टिकाभैरवस्थित द लेप्रोसी हस्पिटल मुनिको सडक निर्माण कार्यका लागि लगाइएको वाल भत्किई पहिरो आएका कारण राजकुलो बन्द भएको छ ।
गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरवदेखि वडा नं. १२ ठेचो सिभिलहोमसम्म सिंचाईको मेरुदण्ड रहेको राजकुलो सञ्चालनमा आएको थियो ।
वाग्मती प्रदेश सरकारले चालु वर्षमा ४९ लाख रुपैयाँ बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको थियो । सो कुलो मर्मत तथा सुधारको जिम्मेवारी ठेचो भलिंपुचःले लिएको थियो । सो कार्य भलिंपुचःको नेतृत्वमा दैनिक एक सय देखि डेढसय जनाको समूहले सरसफाई तथा मर्मत कार्य २५ दिनमा सकेको भलिपुचःका उपाध्यक्ष सुनिल महर्जनले बताएका छन् । उपाध्यक्ष महर्जनका अनुसार सरसफाई १५ दिनमा सकिएको र ढलान, भत्किएका वाल तथा ढल हाल्नुपर्ने कार्य भने करिब १० दिन लगाएर पूरा गरेको जनाएका छन् । स्मरणीय छ, बाटोघाटोदेखि लिएर यस्ता सार्वजनिक कार्य र विकास निर्माणमा महर्जन निकै खटिने व्यक्तिका रुपमा परिचित छन् । बाटो विस्तारका लागि लगाइएको वाल भत्किएका कारण राजकुलो थुनिएपछि फेरि बाँकी रहेको रोपाई कार्य रोकिन सक्ने स्थानीयले बताएका छन् । सो पुरिएको कुलो खुलाउनका लागि तत्काल कार्य थालनी गरी कुलो संचालनमा ल्याई धान रोप्न कार्यलाई निरन्तरता दिलाउने कार्य चाँडै हुने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।
विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै ठेचो, चापागाउँका फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । राजकुलो संचालन भएकै कारण अहिले सो क्षेत्रको रोपाई गर्ने कार्य ८० प्रतिशत सकिसकेको अवस्था छ ।
तीस वर्षपछि सञ्चालनमा आएको राजकुलोको पानीले यस वर्ष धान रोपाइँको काम धमाधम अघि बढिरहेको र रोप्ने कार्य करिब ८० प्रतिशत सकिसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । पहिलो चरणमा गत वैशाख १२ गते सो कुलोबाट पानी ल्याउन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य सञ्जेल र राजकाजी महर्जन, गोदावरी नगरपालिकाका प्रमुख महर्जन, गोदावरी नगरपालिकाका—१२ का जगतबहादुर महर्जन, वडा नं. ११ का निलबहादुर देशार, वडा नं. ६ का विष्णुमान महर्जनलगायत स्थानीय जनताले अनुगमन गरेका थिए ।
सो कुलोको पानी धेरै वर्षअघिदेखि नै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारसम्म दैनिक पुग्ने गरेको थियो । राजकुलोको पानीले गोदावरी र पाटनका ६४ ढुङ्गेधारा पुनःजीवित हुनाका साथै गोदावरीको करीब ६० हजार रोपनी जमीन सिँचाइ हुने भएको छ ।