कांग्रेसले संविधान संशोधन सुझावका लागि गठन गरेको समितिले पूर्णता पायो

384 Shares

काठमाण्डौ – नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको गएको चैत्र ११ गतेको निर्णयअनुसार गठित समितिलाई पूर्णता दिइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विज्ञ समितिमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरू सदस्य छन् ।

संविधान जारी भएको एक दशकमा अभ्यासका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्दै संघीय प्रणाली र समावेशितालाई थप प्रभावकारी बनाउन पहल लिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई संविधान संशोधनका सन्दर्भमा विभिन्न क्षेत्रबाट उठेका माग, विगतका आन्दोलन र सम्झौताहरूको अध्ययन गरी विस्तृत प्रतिवेदन बुझाउने ५ वटा कार्यभार दिएको कांग्रेसले जनाएको छ । यसअघि सरकारले संविधान संशोधन बहसपत्रमा बनाएको कार्यदलमा सामेल हुनुअघि कांग्रेसले सरकारसँग केही विषयमा धारणा मागेको थियो ।

यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आज काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् । पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले आज छलफल गरेर सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ । छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने निष्कर्ष सहित देउवापक्षको भेलामा नजाने निर्णय गरेको छ ।  

सम्बन्धित समाचार