ओली सरकार ढाल्न क—कसले गरे प्रतिज्ञा

23k Shares

काठमाडौं । एक पटक होइन दुईपटक होइन मलाई पटक—पटक धोका भएको छ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले निकटस्थसँग मात्र होइन आफूलाई भेट्न आउने प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रहरुसँग यसै भन्ने गरेका छन् । उनलाई भैंसेपाटी भेट्न पुगेका विष्णु पौडेलदेखि शंकर पोखरेलसम्मले यस्तै जवाफ खाएका छन् । दुईपटक आफूले ओलीको सत्तालाई जीवनदान दिएको तर आफैलाई धोका भएको भन्दै गौतमले अब कुनै हालतमा साथ नदिने बताइसकेका छन् । 
त्यसो त गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव पटक—पटक गइसकेको छ । अदालतले उनको मन्त्री बन्ने ढोका समेत खोलिदिएको छ । यसलाई पनि अर्थपूर्ण मानिएको छ । भविष्यमा बहुदलीय जनवादको मुद्दा बोकेर नेकपा अध्यक्ष बन्न सक्ने भन्दै ओलीले गौतमलाई फकाउन खोजिरहेका छन् । तर, गौतमले भीष्मप्रतिज्ञा गरिसकेको बुझिएको छ । उनले २०७८ को सुर्योदय हुँदा ओली कुनै हालतमा प्रधानमन्त्रीका रुपमा नरहने अवस्था ल्याउने प्रतिज्ञा समेत गरेका छन् । निकटस्थसँगको छलफलमा ओलीले यसो भनेपछि अब भने सरकार ढल्ने भयो भन्ने सन्देश गयो । त्यसपछि ओली निकै हतास देखिनथाले । उनले अनेकन फण्डा गरेर सत्ता जोगाउने प्रयास जारी राखेका छन् । 
ओलीले पूर्व एमालेबीचको एकतामा समेत जोड दिए । माधवकुमार नेपाललाई पनि तृतीय अध्यक्ष देखि केही समयपछि प्रधानमन्त्री बन्न सहयोग गर्ने उधारो आश्वासन दिए । नेपालका मान्छेलाई सरकारमा मन्त्री बनाउने प्रस्ताव पनि राखे । तर, नेपाल मानेनन् । त्यसपछि उल्टै उनलाई धम्की दिइयो । त्यो धम्की के थियो भन्ने कोटेश्वरभित्र गाइगुइँ चलिरहेको छ । बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको टाउकोमाथि तरबार झुण्ड्याइएको छ । तर, नेपालले धम्की दिने ? भनी ओलीलाई उल्टै चुनौती दिए । यसले ओली र नेपालको सम्बन्ध झनै बिग्रियो । अब ओलीको सत्ता ढाल्न प्रचण्ड भन्दा बढी माधव नेपाल र बामदेव गौतम नै लागेका छन् । गौतम फेरि पद पाउने आशामा यताउता होलान् कि भन्ने डर नेपाललाई छ । तर, नेपाल भने कुनै हालतमा ओलीको सत्ता ढाल्न सक्रिय भइसकेका छन् । उनले ओलीलाई सिधै चेतावनी समेत दिएका छन् । ओलीका कारण नेकपाको अस्तित्व नै संकटमा पर्ने भन्दै हटाइछाड्ने प्रतिज्ञा गरेका छन् । 
प्रचण्डले त राजनीतिक प्रतिवेदन फिर्ता लिन मानेनन् । यसले ओलीसँगको टकराव बढेको छ । दुईपटक सत्ताबाट हटाउने मौका मिल्दा पनि प्रचण्ड पछाडि हटे । यसलाई उनको कमजोरी भनियो । तर, पार्टी एकता बिग्रन नदिन उनी लचिलो बने । तर, ओलीले कमजोरी ठानेर पेलिरहे । राजदूत नियुक्तिमा छलफल गरेनन् । नयाँ मन्त्री बनाउँदा पनि बेवास्ता गरे । उल्टै पूर्व माओवादीबाट यो या त्यो व्यक्तिलाई मन्त्री बनाउने भएमात्र मान्छु भने । अहिले प्रचण्ड कुनै हालतमा ओलीलाई हटाइछाड्ने अठोटका साथ लागेका छन् । 
नेकपाको सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव प्रस्तुत गरेर एक अर्काविरुद्ध आरोप प्रत्यारोप शुरु गरेका ओली र प्रचण्ड सत्ता संघर्षमा रहेको खुल्दै गएको छ । ओलीले सार्वजनिक रुपमा सरकारविरुद्ध चलखेल भएको बताइसकेका छन् । साथै आफूले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारेका छन् । प्रचण्डले भने ओलीलाई सत्ताबाट हटाउन खोजिरहेका छन् । उनी यसपटक पछि हट्ने मनशायमा देखिदैनन् । झन् झन् आक्रामक भएका छन् । ओलीलाई हटाउन खोजेका प्रचण्डले सार्वजनिक रुपमा यस प्रकारको कुनै अभिव्यक्ति दिएका छैनन् । उनी यसपटक निकै कम बोलेर सक्रियता बढाइरहेका छन् । तर, पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल र उनका विश्वासपात्रहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् । 
पूर्व एमालेका रुपमा परिचित नेपाल समूहले ओलीलाई पार्टीलाई बेवास्ता गरी मनोमानी तरिकाले चलेको भनी आलोचना गर्दै आएका छन् । नेकपा बैठकमा ओली र नेपालबीच धम्कीको भाषा समेत प्रयोग भएको खुलासा भइसकेको छ । जसलाई ओलीले आफूले बैठकमा राखेको भनाईका रुपमा बाहिर खुलाइसकेका छन् । पार्टी बैठकमा नेपालले ओलीलाई धम्की दिने ? भनी प्रश्न समेत गरेका थिए । धम्कीको भाषाले नेकपाभित्र ठुलो धाँजा फाटिसकेको छ । नेपालले ओलीलाई सिधै अहंकारी भनेका छन् । पार्टीभित्रको मुख्य जड नै ओली भएको सार्वजनिक रुपमा टिप्पणी समेत गरेका छन् । 
नेपाल पछि नहट्नुमा उनको प्रधानमन्त्री बन्ने मौका पनि कारण छ । प्रचण्ड ओलीको विकल्प खोज्न नेपाललाई प्रधानमन्त्री बनाउने शर्तमा समेत लचिलो बनेको चर्चा छ । ओली कमजोर भइहालेमा पूर्व एमालेको समूहले आफूलाई नै समर्थन गर्ने बुझाई नेपालको हुनसक्ने विश्लेषण भइरहेको छ । आफूलाई विगतमा निकै पेलेको, कुनै महत्व नदिएको र उल्टै अप्ठ्यारोमा पारेको पीडा सम्झेर नेपाल ओलीविरुद्ध अर्जुनदृष्टि लगाएर सक्रिय छन् । झलनाथ खनाल पनि ओलीविरुद्ध सक्रिय छन् । उनी पनि ओलीको एकलौटी कार्यशैलीबाट आर्जित छन् । यसरी प्रचण्डभन्दा पनि पूर्व एमालेका हस्तीहरु ओली हटाउने अभियानमा सक्रिय भएका छन् । 
यही अवस्था बुझेर ओली समूहले नेपाल पक्षमाथि कठोर गतिविधि गर्न थालेको छ । स्थानीय तहमा आक्रमणका घटना बढेको छ । नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध गृहनरगमै नारावाजी भएको छ । चितवनको अगुवा कार्यकर्ता भेलामा मन्तव्य राखिरहँदा उनीविरुद्ध नारावाजी भएपछि विवाद झन् चकिएको छ । यस घटनाप्रति माधव नेपालले कडा अभिव्यक्ति दिएका छन् । 
 

सम्बन्धित समाचार