काठमाडौं, १ जेठ । भक्तपुरको फर्निचरमा लागेको आगलागीबाट दुई करोड बढीको क्षति भएको छ। आगलागी हुँदा दुई करोड २९ लाख बराबरको क्षति पुगेको छ।
आइतबार राति सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा आगलागी भएको थियो। नजिकै रहेको अर्को पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानामा पनि आगलागी भएको थियो। आगलागी हुँदा फर्निचर, कच्चा पदार्थ, मेशिन केमिकल, कार, घर, नगद लगायत जलेर नष्ट भएको छ।
करिब ७ बजेदेखि आगलागी भएको राति साढे १० बजे नियन्त्रणमा आएको थियो। आगलागी नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। पाँच वटा दमकलको समेत प्रयोग गरिएको थियो। आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।