काठमाडौं । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड (भाइजर) अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो ।
सरकारले गत असोज २६ गतेदेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो । विभागले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी गरेको हो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनु आग्रह गरेको छ ।
यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारीले बताउनुभयो ।
यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो । बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।