प्रदेश ५ को प्रदेश सभाले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने कार्य सकाएको छ ।
प्रदेश ५ को प्रदेशसभाले प्रदेशको राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ ।
प्रदेशसभामा आज भएको मतदानमा नाम लुम्बिनी राख्ने पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मतदान गरेका छन् । त्यसअघि प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटबललाई बनाएको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो ।
सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो ।