एक्काइस दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका एजेण्डाको सुनवाइ गर्न माग गर्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालका आवासीय चिकित्सकहरुले उनको समर्थनमा धर्ना दिएका छन् ।
गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरबाट सत्याग्रह सुरु गरेका थिए । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनरत् छन् ।
यसपटक २१ दिनदेखि अनसनरत् केसीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले आइतबार अस्पताल परिसरमै विरोध प्रदर्शन गरेका हुन् ।

आन्दोलित स्वास्थ्यकर्मीहरुले सरकारलाई २४ घण्टाभित्र डा. केसीका माग सम्बोधन गर्न र त्यसो नगरेमा आफूहरु थप कडा रुपमा प्रस्तुत हुन बाध्य हुने बताएका छन् ।
डा. केसीको स्वास्थ्य थप गम्भीर हुनुका साथै थप शिथिल हुँदै गएपछि उनलाई अक्सिजन दिन थालिएको छ ।