सहरमा अभाव गाउँमा बिक्दैन दूध, दैनिक पाँच लाख लिटर अभाव

22.1k Shares

काठमाडौँ, माघ १७ गते  । दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो । 

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।  

दैनिक पाँच लाख लिटर अभाव

राष्ट्रिय डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बजारमा हाल दैनिक पाँच लाख लिटर दूधको अभाव रहेको जानकारी दिनुभयो । सामान्य अवस्थामा बजारमा दैनिक ३६ लाख लिटर दूधको आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो । 

खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उहाँको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएको र गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूधको अभाव भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीअघि खपत नभएको दूधबाट धूलो दूध उत्पादन गरेर भण्डारण गर्ने गरिएको थियो तर अहिले दूधकै उत्पादन कम भएकाले दुग्ध उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको व्यवसायीले बताउनुभयो । 

दुग्ध विकास संस्थान ९डीडीसी०का महाप्रबन्धक सञ्जीव झाले असोजदेखि फागुनसम्म धेरै दूध उत्पादन हुने समय भए पनि अहिले अभाव रहेको बताउनुभयो ।  

दूधको खपत वार्षिक १४ प्रतिशतले बढ्दै गए पनि सो अनुपातमा उत्पादन नबढ्दा बजारमा दूधको अभाव देखिएको उहाँको भनाइ छ । डीडीसीका अनुसार गत वर्ष अहिलेको समयमा मुलुकभर दैनिक एक लाख ८० हजार लिटर दूधको सङ्कलन हुने गरेकामा अहिले घटेर एक लाख लिटरमा झरेको छ । “अघिल्ला वर्ष एक लाख लिटर दूध प्रशोधन गरेर बजारमा पठाउने र बाँकी दूधको धुलो दूध बनाएर चैतदेखि भदौसम्म खपत हुने गरेको थियो । अहिले दूधको अभाव हुँदामा धुलो दूध उत्पादन भएको छैन भने घिउ र बटरको उत्पादन पनि बन्द गरिएको छ,” झाले भन्नुभयो । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

सम्बन्धित समाचार