काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले शपथ लिएको २१ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
नयाँ मन्त्रीलाई मंगलबार शपथ गराउने गरी सोमबार नै मन्त्रिपरिषद्को गृहकार्य भइरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि प्रचण्डले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए ।
पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा तीन उपप्रधानमन्त्रीसहित चार जना विनाविभिागीय मन्त्रीसहित क्याबिनेट बनाएका थिए । नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादीबाट उपप्रधान सहित भौतिक पूर्वाधार र यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमा रास्वपाका रवि लामिछाने मन्त्री बनिसकेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानसहित सरकारमा सहभागी गराउने गठबन्धनको तयारी छ ।