काठमाडौं, २२ पौष । ठमेल क्षेत्र पर्यटकहरुको मनोरञ्जन लागि मुख्य गन्तव्यको रुपमा रहेको क्षेत्र हो । कोरोना भाइरसका कारण सुस्ताएको ठमेल क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक तथा वाह्य पर्यटकहरुको मनोरञ्जन गने क्षेत्रको रुपमा रहेको छ ।
ठमेल क्षेत्रमा आन्तरिक पर्यटक तथा वाह्य पर्यटकहरुलाई मनोरञ्जन गराउने उद्देश्यका साथ खोलिएको क्लव, डिस्को, दोहोरी, डान्स रेष्टुरेन्टमा बाउन्सर राखिन्छ । बाउन्सर राख्नुको उद्देश्य भनेको क्लव, डिस्को, दोहोरीमा आएका पाहुनाहरुलाई सम्मानका साथ नियम पालना गराउने हो ।

तर, अंग्रेजी नयाँ वर्षका दिन ठमेलको प्लान बी क्लवका बाउन्सरको जत्थाले मनोरञ्जन गर्न गएका युवकमाथि छानीछानी रामधुलाईको गरेको भिडियो खोजतलासलाई प्राप्त भएको छ ।
‘न्यू इयर इभ’ मनाउन गएका युवामाथि ठमेलको मण्डला स्ट्रीटस्थित ‘प्लान बी’ क्लवका बाउन्सरले मरणाशन्न हुने गरी कुटपिट गरेका छन् । कल्व सञ्चालकको सक्रियतामा उक्त घट्ना गुपचुप पार्न खोजीएको छ । प्रहरीले पिडीतलाई भन्दा पनि क्लवका बाउन्सरको व्यवहारलाई नै उचित ठानेर होला कारवाहीको दायरामा ल्याउन चाहिरहेको देखिन्न । उक्त क्लवमा बाउन्सरको दादागिरीले सिमा नाघि सकेको अवस्था छ । यस्ता घट्ना त्यहाँ हप्तैपिच्छे हुने गर्छ । र पनि उक्त क्लवले छुट पाइरहेको अवस्था छ ।
न्यू इयर ईभका दिन प्लान बी क्लवकै सञ्चालकको लगानीमा सञ्चालन गरिएको संगैको भिभि रेष्टुरेन्टमा बसेर खानपिन गरिसकेपछि क्लव बी तिर जाँदै गरेका युवामाथि त्यहाँका बाउन्सरले एकाएक रामधुलाई गर्न थालेका हुन् । बाउन्सरको निर्मम हातपातबाट सदन थापा, तेन्जीङग निमा, अविर थापालगायतका युवा गम्भीर घाइते छन् । ग्याङ्ग वारजस्तै लाग्ने गरी क्लवको सुरक्षार्थ तैनाथ बाउन्सरले सामान्य भनाभन भइरहेको अवस्थामा रमाइलो गर्न पुगेका युवामाथि आक्रमण गरेका थिए । उक्त दृश्य रेकर्ड गरिएको भिडीयोमा देख्न सकिन्छ । आफूहरु विवाद बढ्दै गएर हात हालाहाल होला जस्तो अवस्था निम्तिएपछि भाग्न खोज्दै गर्दा क्लवका बाउन्सर जत्थाले समातेर अपहरणशैलीमा लगेर एक्लाएक्लै कुटपिट गरेको पिडीतले गुनासो गरेका छन् । बाउन्सरको आक्रमणमा परि घाइते पिडीतले क्लव उपर कारवाहीको माग गर्दै प्रहरीमा गएका छन् । यद्यपि, प्रहरीबाट भने खासै चासो नदेखाएको उनीहरुको भनाई रहेको छ ।

रामसाङ्ग शेर्पा, तेन्जीङ्ग घोम्पो, अनमोल थापा लगायत सञ्चालक रहेको प्लान बी क्लवमा यस्ता घट्ना दिनहुँ घट्ने गरेको बताइन्छ । तर, प्रहरीले आवश्यक खवरदारी नगर्नुको कारण बुझिनसक्नु छ ।
यहीबीच, उक्त घट्ना र बाउन्सरको कर्तब्य बारे जिज्ञांसा राख्न क्लव सञ्चालक रामसाङ्ग शेर्पाको मोवाइलमा सम्पर्क गर्दा उनले आफू सञ्चालक नरहेको दावी गर्दै पटक पटक आफ्नो फोन नम्बर कसले दिएको भन्दै प्रश्न गरिरहे अनी फोन लाइन नै काटिदिए ।
उता, प्रहरी वृत्त लैनचौरका एक प्रहरी अधिकारीले आफ्नो नाम प्रकाशन नगर्ने शर्तमा दिएको जानकारी रोचक लाग्दो छ । उनका अनुसार जुन जुन रात्री क्लव, डान्स, दोहोरी रेष्टुरेन्टले मासिक बुझाउने गर्छ, त्यतातर्फ प्रहरीको ध्यानै जान्न । उल्टो त्यहाँ पुग्ने ग्राहकलाई नै दोषी बनाएर चौकि ल्याइन्छ । मिलेसम्म उसैबाट उल्टो क्षतीपूर्ति भराइन्छ । त्यो सबै काम सिभिल प्रहरी (घुमुवा)बाट हुन्छ । डीएसपीसँग उनीहरु नै नजिक हुन्छन्, अनुचित लाभको बाटो उनीहरुले नै खोलीदिन्छन् । यस्तो अवस्थामा न्याय भन्ने विषय नै गौण हुन पुग्छ ।
के न्यू इयर इभको रात्री समयमा प्लान बी क्लवमा घटेको घट्ना प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्ला कि, घुमुवा प्रहरीको इशारामा सञ्चालकलाई नै संरक्षण गर्ला ? त्यो हेर्न बाँकी छ ।