पहिलो चरणमा मन्त्री बनेका ७ जना को को हुन् ?

15.7k Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णुप्रसाद पौडेलको संसदीय राजनीति यात्रा २०५१ सालबाट सुरु भएको हो । उनी २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए। उनी २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ मा पराजित भए ।

२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी पाए । वि।संं २०७२ को केपी शर्मा ओलीको नेतृत्व सरकारमा उनी अर्थमन्त्री बनेका थिए । रुपन्देही क्षेत्र नं २ बाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित भएका थिए । 

नारायणकाजी श्रेष्ठ 

पूर्वउपप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वगृहमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । श्रेष्ठ सरकारका प्रवक्ता एवं संविधान सभा सदस्यको जिम्मेवारी सम्हाल्दै हाल राष्ट्रिय सभा सदस्य छन् । 

प्रतिनिधि सभाको निर्वाचन २०७४ मा गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भए पनि हाल भने राष्ट्रिय सभा सदस्य छन् । पार्टीमा उनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छ । 

गोरखाको जौबारीमा २०१६ सालमा जन्एिका श्रेष्ठ २०६२-६३ को जनआन्दोलनका बेलासम्म भूमिगत जीवनमै थिए । त्यसपछि मात्र उनी सार्वजनिक भएका हुन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय उनी २०४३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)को केन्द्रीय सदस्य, २०४८ सालमा ‘प्रचण्ड’सँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र)मा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए ।

रवि लामिछाने 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री भएका छन् । २०७९ सालमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी टेलिभिजन प्रस्तोता थिए । 

२०७० सालमा न्युज ट्वान्टी फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वल्र्ड रेकर्ड कायम गरेका थिए । २०७९ सालमा लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै प्रतिनिधि सभा निर्वाचनमा होमिएका हुन् । ४७ वर्षीय लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतासमेत हुन् ।  

ज्वालाकुमारी साह 

नेकपा (एमाले)बाट मन्त्री बनेकी ज्वालाकुमारी साह बारा क्षेत्र नं। ३ बाट विजयी भएकी हुन् । २०३८ सालमा जन्मिएकी साह २०५४ सालदेखि भूमिगत भएर नेकपा ९माओवादी०को विद्यार्थी जीवनबाट राजनीति सुरु गरेकी थिइन् । पहिलो संविधान सभामा मनोनीत सदस्य र २०७४ मा मधेश प्रदेशको सदस्यमा बारा क्षेत्र नं। ३ ९क०मा निर्वाचित भएकी थिइन् । 

२०६७ सालमा भूमिसुधार राज्यमन्त्री, २०६८ मा पर्यटन राज्यमन्त्री र पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा मात्र १३ दिन कृषिमन्त्रीको जिम्मेवारी लिएकी थिइन्। उनी नेकपा विभाजनपछि नेकपा (एमाले)लाई रोजेकी थिइन् । 

दामोदर भण्डारी 

नेकपा (एमाले)का दामोदर भण्डारी बैतडीबाट निर्वाचित सांसद हुन् । २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध भएका भण्डारी २०४८ सालमा अनेरास्ववियु बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका थिए ।

२०५० सालमा नेकपा (एमाले)को बैतडी जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला कमिटी उपसचिव र २०५६ देखि २०६४ सम्म एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै अध्यक्षसमेत बने । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका हाल नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षसमेत हुन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा बैतडी संविधान सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका भण्डारी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा बैतडीबाट विजयी भएका थिए । २०७३ सालमा अर्थराज्यमन्त्री भएका थिए ।

राजेन्द्रकुमार राई 

राजेन्द्रकुमार राईको जन्म धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा २०२२ साल भदौ २९ गते भएको हो । २०४९ सालमा जनप्रतिनिधिका रूपमा जिल्ला विकास समितिको सदस्यमा विजयी भएका उनी २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित भए । 

धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर मावि पढ्ने क्रममा राई अनेरास्ववियुमा सङ्गठित भएका थिए । २०३६ सालमा काठमाडौँमा भएको अनेरास्ववियुको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधि भए । २०६६ साल असारमा भएको जिल्ला अधिवेशनबाट एमाले धनकुटा जिल्ला अध्यक्ष निर्वाचित बनेका थिए । उनले एमालेको धनकुटाको २ कार्यकाल नेतृत्व गरेका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा धनकुटा क्षेत्र नं। २ मा पराजित भएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाका सातवटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले अध्यक्ष केपी ओलीबाट म्यान अफ दी इलेक्सनको उपाधि पाएका थिए । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी विजयी भए । 

अब्दुल खान

भर्खरै सम्पन्न भएको निर्वाचनमा मधेशमा उदाएको जनमत पार्टीले सरकारमा बिनाविभागीय मन्त्री पाएको छ । अध्यक्ष सीके राउत आफैँ सरकारमा सहभागी नहुने भएपछि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानलाई सरकारमा पठाएको हो । 

बर्दियाको गुलरियामा जन्मिएका खान सो पार्टीबाट समानुपातिक सांसद हुन् । २०६८ सालमा काठमाडौँको अनामनगरमा प्रथम पटक डा। सीके राउतको दुई दिने कार्यक्रममा स्वयंसेवकका रूपमा उनी सहभागी भएका थिए । त्यसपछि काठमाडौँदेखि मधेशका विभिन्न जिल्लामा राउतको विशेष सहयोगीका रूपमा भेटघाट, छलफल उनकै नेतृत्वमा भएको थियो ।  


सम्बन्धित समाचार