इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर तथा सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
हालसम्म उपाधि नजितेको बैंगलोर आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ । दोस्रो उपाधिको खोजीमा रहेको हैदराबाद पनि बैङ्लोरलाई पराजित गर्न चाहन्छ ।
हालसम्म यी दुई टोलीबीच १५ खेलमा प्रतिस्पर्धा हुँदा हैदराबादले ८ तथा बैंगलोरले ६ खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने रद्द भएको छ ।
बैंगलोर विराट कोहलीको र हैदराबाद डेविड वार्नरको कप्तानीमा मैदानमा उत्रिने छन् ।
बैंगलोरको ओपनिङ देवदत्त पाडिक्कल तथा आरोन फिंचले गर्ने सम्भावना छ । यदि फिंचले मौका नपाएमा पार्थिव पटेल तथा जोसुवा फिलिप्समध्ये एकले मौका पाउनेछन् ।
मध्यक्रममा कप्तान विराट कोहली, एबि डि भिलियर्स तथा गुरक्रित सिंहले सम्हाल्ने छन् भने तल्लोक्रम अलराउन्डरहरू शिवम् दुबे तथा क्रिस मोरिसले सम्हाल्ने सम्भावना छ ।
बलिङमा युज्वेन्दर चहल, वासिङ्टन सुन्दर र नवदीप शैनीले मौका पाउने सम्भावना छ भने विदेशी कोटामा एडम जाम्पा तथा डेल स्टेनमध्य एकले मौका पाउने छन् । दुबईको पिच स्पिनर सुहाउँदो भएकाले जाम्पाको सम्भावना धेरै छ ।
त्यस्तै हैदराबादको ओपनिङ कप्तान डेभिड वार्नर र जोनी बेरिस्टोले गर्नेछन् । मध्यक्रममा मनीष पाण्डे, विजय शंकर, विराट सिंह रहनेछन् भने तल्लोक्रम अलराउन्डर मोहम्मद नावीले सम्हाल्ने सम्भावना छ ।
बलिङमा राशिद खान, भुवनेश्वर कुमार, खली अहमद तथा सिद्धार्थ कौलले मौका पाउने सम्भावना छ । हैदराबादले आजको खेलमा प्रियम गर्ग तथा अब्दुल समाद मध्ये एकलाई मौका दिनसक्छ ।