भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

22.3k Shares

काठमाडौं, ३१ दौ  नेपालका प्रशिक्षक कुमार थापाले सेमिफाइनल अघि भनेका थिए– सधैँ एउटै टिमले जित्छ भन्ने हुदैन । हामी काठमाडौंका दर्शकलाई निराश पार्दैनौं ।
बिहीबार बाह्रखरीसँग भनेको कुरालाई प्रशिक्षक थापाले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रमाणित पनि गरे । थापाले आफ्नो भनाईलाई सार्थक बनाए । थापाको भनाईमा दुई अर्थ थियो । एक, ६ वर्षअघि थापाकै नेतृत्वमा नेपाल सेमिफाइनलमा भारतसँगै हारेको थियो । यसपटक त्यो दोहरिन दिन्नौं । अर्को, काठमाडौंमा फुटबलको माहोल गज्जबको छ । त्यो माहोललाई निराश पार्दैनौं ।
उनले आफ्नो प्रतिवद्धता पुरा गरे । थापाले बुनेका योजनालाई नेपालकी फरवार्ड रश्मीकुमारी घिसिङले कार्यान्वन गरिन् । पहिलो हाफको इन्जुरीमा समयमा रश्मीले पेनाल्टी क्षेत्रबाट आत्मविश्वासका साथ हानेको प्रहारलाई भारतकी गोलकिपर आदिती चौहानले बचाउन सकिनन् । रश्मीको त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । र त्यो जित ऐतिहासिक बन्यो ।
नेपाली टोलीले रंगशालामा उपस्थित साढे ७ हजार दर्शकलाई निराश पारेनन् । खुशी बनाएर घर पठाए । त्यतिमात्र होइन सम्पूर्ण खेलप्रेमीलाई गौरवान्वित बनायो । किनकी साफमा नेपालले भारतलाई हराएको यो नै पहिलो हो । र, समग्रमा यो दोस्रो पटक हो । यसअघि २०१९ को हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराएको थियो । भारत साफ महिला च्याम्पियनसिपमा हारेको पनि यो दोस्रो पटक हो ।
नेपालले अब फाइनलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यससँगै भारत पहिलो पटक साफको फाइनलमा हुने छैन । साथै साफ महिला च्यामिपयनसिपले अब नयाँ विजेता पाउने पक्का छ । भारतले यसअघि सबै संस्करणको उपाधि जितेको थियो । त्यही भारतलाई नेपालले घरेलु मैदानमा हराउन सफल भयो । यससँगै दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा तोडिएको छ ।
भारत समूह चरणमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो । फाइनलमा नेपालसँग पराजित भयो । नेपाल पाँचौं पटक फाइनलमा स्थान बनाउन सफल भयो । २०१६ मा बाहेक नेपालले पनि सबै संस्करणको फाइनल खेलेको छ ।
२०१६ मा नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो । नेपाल र भारत सेमिफाइनलमा प्रतिस्पर्धा गरेको त्यो नै पहिलोपटक थियो । अहिले दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो । त्यतिबेला पनि नेपालका प्रशिक्षक कुमार थापा नै थिए । अहिले पनि थापा नै प्रशिक्षक छन् । यस अर्थमा थापाले ६ वर्षअघिको बदला लिन सफल भएका छन् ।
नेपालले दोस्रो हाफमा पनि गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । तर, त्यसलाई सदुपयोग गर्न भने सकेन । ६३औं मिनेटमा प्रिति राईले पनि पेनाल्टी क्षेत्रबाटै हानेको प्रहार थोरैले बाहिरिँदा नेपाल अग्रता बढाउनबाट चुक्यो ।
फाइनल सरह मानिएको खेलका नेपालको अघिल्लो खेलको टिममा एक खेलाडी परिवर्तन गरेको थियो । डेंगीबाट तंग्रीएकी सावित्रा भन्डारी नेपाली टिममा फर्किए पनि पहिलो रोजाइमा भने परेकी छैनन् । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले प्रीति राईले पहिलो रोजाइमा राखेकी छिन् । प्रीतिले स्थान बानाउँदा रेखा पौडेल बेन्चमा थिइन् ।
नेपाल समूह ‘बी को विजेता टोली हो भने भारत समूह ‘ए’ को उपविजेता हो । आजै सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब सोमबार उपाधिका लागि नेपालसँग खेल्नेछ ।

सम्बन्धित समाचार