काठमाडौं । विदेशी बैंकमा करोडौं रुपैयाँ शंकास्पद कारोबार गरेको अभियोगमा पक्राउ परेका अमित श्रेष्ठ पुर्पक्षमा जेल चलान भएका छन् ।
श्रेष्ठ पुपक्षमा जेल चलानभएसँग अब श्रेष्ठसँग अवैधानिकरुपमा कारोबार गर्नेहरुको पनि खोजी कार्य थालिएको प्रहरीले जनाएको छ । श्रेष्ठसँग अबैधानिकरुपमा कारोबार गर्नेहरुको सुक्ष्म अनुसन्धान गरी अवैधानिकरुपमा कारोबार गरेको देखिए त्यस्ता व्यक्तिलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।
उता, तस्कर श्रेष्ठलाई धरौटीमा छुटाउनका लागि बिचौलियाको भूमिका खेल्न पूर्व एआईजी हरिबहादुर पाल, सूर्य इन्सुरेन्सका पंकज खड्का र चेतन भण्डारीलगायतले करोडौं रुपैयाँ खर्च गरेर भए पनि छुटाउने भन्दै हिँडेका थिए ।
पछिल्लो समय न्यायालय यस्तै तस्करहरुको पञ्जामा परेको भन्ने सर्वत्र गुनासो आइरहेको बेला त्यसको विपरित न्यायालय उभिई अरबौं स्रोत नखुलेको रकमको आरोपमा पक्राउ परेका श्रेष्ठलाई पुर्पक्षमा जेल चलान गरी अनुसन्धान गर्न सहज वातावरण बनाई दिएपछि न्यायालयप्रति सर्वसाधारणले विश्वास गर्ने वातावरण बनेको छ । तस्करहरुले करोडौं रुपैयाँ खर्च गरेर भए पनि उन्मुक्ति दिलाउने उद्देश्यका साथ न्यायमुर्तिलाई आफ्नो प्रभावमा पार्न साम, दाम, दण्डभेद प्रयोग गरे पनि न्यायमुर्ति लोभलालचमा नफसी कानुनबमोजिम निष्पक्षतापूर्ण गरेको फैसलाप्रति सम्पूर्ण न्यायप्रेमी जनतादेखि लिएर सर्वसाधारणलेसमेत प्रशंसा गरेका छन् ।
विदेशी बैंकमा करोडौं रुपियाँ शंकास्पद कारोबार गरेको अभियोगमा पक्राउ परेका अमित श्रेष्ठलाई क्यानडा र अष्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै सात वर्ष कैद र झण्डै डेढ अर्ब जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियोे ।
अपराधिक मानसिकताका अमित श्रेष्ठ कामको सिलसिलामा अफगानिस्तान पुगेका थिए । सोही सिलसिलामा श्रेष्ठ आफै बसेको घर मालिकलाई हत्या गरी उनको करोडौं डलर लिई सन् २००८ मा नेपाल आएको स्रोतले बताएको छ । श्रेष्ठको गैर कानुनी रुपमा आर्जन गरेको सम्पत्ति प्रहरीले खोजिरहेको अवस्थामा प्रहरीले नै पत्ता लगाउन नसकेको झण्डै २१ करोड रुपैयाँ भन्दा माथिको लगानी खोजतलासले पत्ता लगाएको छ ।
श्रेष्ठको स्रोत नखुलेको नेपालका ‘क’ वर्गका अधिकांश बैंकहरुमा करोडौं रुपैयाँको शेयर रहेको पत्ता लागेको छ । एभरेष्ट बैंकमा १२ करोड ४० लाख रुपैयाँ, लक्ष्मी बैंकमा ५ करोड ६० लाखलगायत नेपालका अधिकांश ‘क’ वर्गका बैंकहरुमा करोडौं रुपैयाँको शेयर रहेको खोजतलासको अनुसन्धानको क्रममा पत्ता लागेको हो ।
श्रेष्ठमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको हो । श्रेष्ठबाट प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो । बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न बैंकको खातामा शंकास्पद कारोबार भएको प्रहरीले पत्ता लगाएको थियो भने कारोबार नै नदेखिएको करोडौं स्पैयाँको स्रोतको खोजी कार्य गरिरहेको खोजतलासले थप करोडौं रुपैयाँको कारोबार गरेको प्रमाण फेला पारेको हो ।
अमित श्रेष्ठले निलम्बन परेका चोलेन्द्र शम्शेरले अवैधानिक तरिकाले आर्जन गरेको अर्बौं रुपैयाँ चोलेन्द्रका भाई प्रभु शम्शेर राणासँग मिली पाँच वर्ष अगाडि सिटिजनसिप लिएका क्यानडाका डन तथा हुण्डी कारोबारी सीजे ज्ञवालीमार्फत् क्यानडामा व्यवस्थापन गर्न सफल बनेको स्रोतले दावी गरेको छ । त्यस्तै, प्रहरीले फेला नपारेको लुम्बिनीमा १० कट्ठा जग्गा र भैरहवामा सुविधासम्पन्न ह्वाइट लोटस होटलमा २५ करोड रुपैयाँ लगानी गरेको र काठमाडौंको मुटु मानिने पक्नाजोलमा ३ रोपनी जग्गामा दशौं करोडको घर र काठमाडौंकै बालाजुस्थित मनमैजूमा १५ रोपनी जग्गा, हायत होटलमा पनि ५० देखि ७० करोड रुपैयाँ लगानी गरेको र दुबईका एक बैंकमा १२ लाख डलर खातामा रहेको समेत स्रोतले दाबी गरेको छ । त्यस्तै, चोलेन्द्र शम्शेर राणाको विदेशमा व्यवस्थापन गर्न नसकेको पैसा अमितले श्रेष्ठले विभिन्न हाइड्रोपावरहरुमा पनि लगानी गरेको स्रोतले दावी गरेको छ ।
श्रेष्ठको नाममा कमन–वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र रोयल बैंक अफ क्यानडामा सेयर समेत कारोबार गरेको देखिएको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन् ।
नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकम श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको छ । श्रेष्ठको एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ । काठमाडौं–१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको प्रहरीले जानकारी गराएको छ ।
श्रेष्ठको खातामा भएका रकम तथा कारोबारहरू शंकास्पद देखिएपछि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएपछि बिचौलियाहरु श्रेष्ठलाई छुटाउन हातै धोएर लागे पनि आँखिर न्यायमुर्तिले तस्कर श्रेष्ठलाई पुर्पक्षमा जेल चलान भएपछि बिचौलियाहरु तिल्मिलाएका हुन् ।
स्मरणीय छ, तस्कर अमित श्रेष्ठले सम्पत्तिको लागि एउटी पत्नीलाई दुःख दिएर डिभोर्स समेत दिइसकेका छन् । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाई प्रभुशम्शेर जबरासँग श्रेष्ठको निकै घनिष्ट सम्बन्ध छ । श्रेष्ठले चालेन्द्रको अबैध धन विदेशमा लगेर राखिदिएको विभिन्न संचार माध्यममा समाचारहरु आइरहेका छन् । चालेन्द्र, प्रभुको अबैध सम्पत्ति श्रेष्ठले क्यानडामा बस्दै आएका सीजे ज्ञवाली नामका नेपाली मूलका क्यानेडियन नागरिकमार्फत् व्यवस्थापन गर्दै आएको समाचार सार्वजनिक भइसकेको छ । सो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको स्रोतले जनाएको छ ।
पक्राउ परेका अमित श्रेष्ठले धेरै व्यक्तिलाई ठगी गर्नुका साथै केही व्यापारी र व्यक्तिको करोडौं रुपियाँ लगेर फिर्ता नगरी उल्टै धम्की दिने गरेको समेत श्रेष्ठबाट पीडित व्यापारीहरुले बताउँदै आइरहेका छन् । पैसाको भरमा राष्ट्र सेवक प्रहरी परिचालन गरेर उनले धेरै व्यक्तिलाई दुःख पनि दिएको प्रहरी स्रोतले दावी गरेको छ ।
हिरासतमै रहेका श्रेष्ठले चोलेन्द्र शम्शेर राणाले अवैधानिक तरिकाले आर्जन गरेको अर्बौं रकम कहाँ—कहाँ लगानी गरेका छन् त्यो सम्बन्धी खोजतलासले अनुसन्धान जारी राखेको छ । तस्कर अमित श्रेष्ठले चोलेन्द्रले गैरकानुनी रुपमा आर्जन गरेको रकम भाई प्रभु शम्शेर राणामार्फत कसरी कुन ठाउँमा लगानी गरिरहेका छन् यस विषयमा गम्भीर रुपमा सुक्ष्म अनुसन्धान गरी पाठकसामु पस्कँदै जानेछौं ।