सुपथ मुल्य पसलबाट २३ लाखको सामान बिक्री

1.1k Shares

बागलुङ । दसैँ, तिहार र छठ लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढेको छ । बागलुङमा सञ्चालनमा आएको पसलबाट दस दिनमै झण्डै २३ लाख रुपियाँका दैनिक उपभोग्य वस्तु बिक्री भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले गत असोज ५ गतेदेखि सञ्चालन गरेको सुपथ मूल्य पसलबाट दस दिनमा १८ हजार १०४ किलो चिनी, १३ हजार ६४२ किलो नुन, ४८२ लिटर तेल र ७२३ प्याकेट आँटालगायतका सामग्री बिक्री भएको हो ।

कर्पोरेसनका प्रमुख मनोजकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार ३०० जनाले सेवा लिएका छन् । दैनिक करिब पाँच सय उपभोक्ताले पसलबाट सामान खरिद गर्दै आएका छन् । बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराइएकाले उपभोक्ताले सहज रूपमा सेवा पाएका छन् ।

दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरी कर्पोरेसनले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यस वर्ष चिनी र नुनसँगै तेल र आँटासमेत बिक्रीमा राखिएको श्रेष्ठले बताउनुभयो ।

बागलुङ बजारमा प्रतिकिलो ११५ रुपियाँसम्ममा बिक्री भइरहेको चिनी कर्पोरेसनले प्रतिकिलो १०० रुपियाँमा बिक्री गर्दै आएको छ । पछिल्लो समय सडक अवरुद्ध हुनुका साथै मालढुङ्गाको पुल निर्माण सम्पन्न नहुँदा सामान ढुवानीमा समस्या भए पनि बेनी हुँदै सामान ल्याएर सस्तो मूल्यमा बिक्री गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

चाडपर्वका बेला बजारमा हुन सक्ने कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको कर्पोरेसनले जनाएको छ ।

सम्बन्धित समाचार