साउन, ८ बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भक्तपुरमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारीमा रुखले च्याप्दा भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटीलाई च्यापेको हो ।
रुख ढल्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नितेज खर्बुजा र अन्य दुई जनाको पहिचान भएको छैन् । घाइतेको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तराष्ट्रिय अस्पतालमा उपचार भइहरेको छ ।