रुसका सेना र हतियार चाँडै सकिन्छन् : जोन्सन

16k Shares

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडै नै सेना र हतियार सकिएपछि रुसको युक्रेनमा अघि बढ्ने गति रोकिने बताएका छन् । उनले युरोपेली सञ्चारमाध्यमसँग यस्तो बताएका हुन् । जोन्सनले जस्तै बेलायती गुप्तचर निकायले पनि यस्तै भविष्यवाणी गरेको छ ।
जोन्सनले आफूले औद्योगिक राष्ट्रहरूको समूह जी ७ लाई रुसी फौजसँग प्रतिकार गर्नका लागि युक्रेनलाई विभिन्न उपकरण दिएर थप सहयोग गर्न अनुरोध गर्न चाहेको पनि बताएका छन् ।
जर्मन अखबार सुडेउत्स्चे जेइटुंगसँगको कुराकानीमा जोन्सनले भनेका छन्, “मेरो विचारमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा भूमि कब्जा गर्ने सिलसिलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाले थुप्रै योद्धा र हातहतियार गुमाइरहेका छन् । हाम्रो रक्षा गुप्तचर निकायका अनुसार केही महिनापछि नै रुससँग युद्ध जारी राख्न आवश्यक सबै श्रोत र साधनहरू सकिने छन् ।”
त्यतिबेला युक्रेनीहरुलाई सशक्त ढंगले अघि बढ्न मद्दत गर्नुपर्ने उनको भनाइ छ । यस बारेमा आफूले जी७ को शिखर बैठकमा कुरा राख्ने उनले बताए ।
“युक्रेनले युद्ध जित्नुपर्छ, हामी यसमा सहमत छौँ । पश्चिम जगतको विभाजन भन्दा एकता स्पष्ट देखिन्छ,” जोन्सनले भने, “युक्रेनीहरू पुटिनको आक्रोशका शिकार हुन् । यदि तपाईंहरू युक्रेनीहरू र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुरा गर्नुहुन्छ भने उनीहरूले आफ्नो भूभाग कुनै पनि हालतमा त्याग्न नचाहेको कुरा थाहा पाउनु हुनेछ ।”
यसैगरी बेलायतको गुप्तचर निकायले रुसले युक्रेनको युद्धमा जोड दिन चाँडै प्रशस्त सैन्य उपकरण निकाल्न संघर्ष गर्ने जनाएको छ ।  विजिनेस इन्साइडरबाट ।

सम्बन्धित समाचार