मतदान अधिकृतलाई कारबाहीको माग गर्दै नाराजुलुस
ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १० को मतपेटिकामा मतदान अधिकृतको सही नभएको मतपत्र पाइएपछि विवाद भई मतगणना स्थगित भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. १० को कालिदेवी माविको बुथमा मतदान अधिकृतको सही विना पत्रपत्र भेटिएपछि विवाद आएको हो ।
मतदान अधिकृतलगायत सो वुथमा रहेका कर्मचारी र स्थानीय नेकपा एमालेका नेताहरुको मिलोमत्तोमा यस्तो मतपत्र भेटिएको नेपाली कांग्रेस, माओवादी र स्थानीय नेताहरुले आरोप लगाएका छन् । कांग्रेस, माओवादी र स्थानीय जनताले मतदान अधिकृत र एमालेको सेटिङ्गमा कांग्रेस र माओवादीका मतदाताको मतपत्रमा निर्वाचन अधिकृतले सही नगरी मतपत्र दिएको आरोप लगाएका छन् ।
अहिले मतगणनास्थल महेन्द्र आदर्श विद्यालय इमाडोलको प्रांगणमा मतदान अधिकृतको यस्तो गैरजिम्मेवारी कार्यको विरोध गर्दै कारबाहीको माग गर्दै नारा जुलुस गरिरहेका छन् ।
कांग्रेस र माओवादीले मतदान अधिकृतले सही छाप नगरेको मतपत्र पाइएपछि सो बुथमा पुनः मतदान गर्नुपर्ने भन्दै अडान लिइरहेका छन् भने एमाले र एकीकृत समाजवादी भने मतगणना गर्नुपर्ने पक्षमा रहेका छन् ।
सो बुथमा मतदान अधिकृतले सही नगरेका मतपत्र पाइएपछि विवाद भई महालक्ष्मी नगरपालिकाको अन्य वुथको समेत मतगणना स्थगित भएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. १० कालीदेवी माविको बुथमा भोट संख्या १०५१ रहेकोमा ८२६ मत खसेको थियो । खसेको मतमध्ये ४२ मतपत्रमा निर्वाचत अधिकृतलगायत निर्वाचनमा खटिएका कर्मचारीहरुको सेटिङमा यस्तो पाइएको स्थानीय जनताले आरोप लगाएका छन् ।