रसुवा, २६ बैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको जिल्ला समन्वय समितिको हलमा मतगणना गरिने भएको छ ।
हललाई मतगणनास्थल तय गरी आवश्यक पूर्वाधारसहित सिसी क्यामरा जडान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
मतगणना गर्दा जडित सिसी क्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको बताइएको छ ।
यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ ।
मुख्य निर्वनचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो ।
यसैगरी मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपछि आइतवारदेखि मतदान कार्य सम्पन्न गराउन खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ ।
पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाइएको पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिने कर्मचारी मंगलवारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने बताइएको छ ।
निर्वाचनको समयमा उम्मेदवार तथा दलका कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जिल्ला हुलाक कार्यालयले अनुगमन गरिरहेको छ ।
हुलाक प्रवक्ता राजेश श्रेष्ठका अनुसार सूचना बोर्डको परिपत्रबमोजिम अनुगमनको साथै कहीँकतै आचारसंहिता उल्लंघन गरेको पाइएमा जिल्ला हुलाकलाई उजुरी दिन सूचनासमेत जारी भइसकेको बताइएको छ ।