सार्वजनिक जग्गा मिचेर बनाइएका घर भत्काइयाे

8.3k Shares

हेटौँडा, वैशाख १६ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ । 

मनहरी गाउँपालिका कार्यपालिका बैठकको निर्णय बमोजिम वडा ७ पुरानो बजारमा भएको सार्वजनिक जग्गा अतिक्रमणबारे सार्वजनिक सूचना जारी गरी घरटहराहरु भत्काउने क्रम सुरु भएको हो । कतिपय स्वयम् घरधनीले र कतिपय संरचना वडा कार्यालयले मेसिन प्रयोग गरी भत्काइएको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो । पुरानो बजार क्षेत्रमा झण्डै ७० वटा घरहरु रहेका छन् ।

तत्कालीन पूर्व पश्चिम राजमार्ग निर्माण गर्दा मनहरी खोलामा पक्की पुल बन्नुअघि दक्षिणतर्फ स्लयाब ढलान बनाएर सवारी साधनहरु तार्ने प्रबन्ध गरिएको थियो । पछि पक्की पुल निर्माण भएपछि स्ल्याब ढलान क्षेत्र भएर जाने पुरानो बाटो बेवारिसे बन्दै गर्दा अतिक्रमण भएको हो । 

अतिक्रमण गरेर बनाइएको घर टहरालाई नक्सा बमोजिम खोजी गरी सफाई गरिएको र तत्कालै उक्त बाटो खण्डमा नाला निर्माणसहित बगैँचा र सिमेन्टका टायलहरु हाल्ने गरी बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष तितुङले बताउनुभयो । सो कार्यका लागि सहरी विकास मन्त्रालयबाट १ करोड बिनियोजन भएको र उक्त बजेट ठेक्का प्रक्रियामार्फत कार्यान्वयनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । 

"हामीले अतिक्रमण हटाएर साइड क्लियर गरेका छौं", वडाध्यक्ष तितुङले भन्नुभयो, "अब ठेकेदारले सुन्दर सडक बनाउने छ ।" अतिक्रमण हटाउने क्रममा अत्यन्तै बिपन्न स्थानीय अमरबहादुर बललाई वडा कार्यालयअघिको सामुदायिक भवनमा बासको व्यवस्थापन गरिएको छ ।

सम्बन्धित समाचार