काठमाडौं, २४ भाद्र । लगातारको निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएपछि उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने भएको छ । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेपछि गृह मन्त्रालयमा समेत छलफल भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेको संयुक्त बैठक बसेका थिए । उनीहरुले जनप्रनितिनिधि लगायत सुरक्षासम्वद्ध अधिकारीहरुको सुझावका आधारमा निष्कर्ष निकालेको बुझिएको छ । त्यसपछि गृह मन्त्रालय पुगेर त्यसबारे रिपोर्ट गरेका छन् ।
गृह मन्त्रालयको निर्देशन अनुसार प्रजिअ त्रयले आज साँझसम्म निर्णय लिने भएका छन् । बुधबार मध्यरातबाट निषेधाज्ञाको अवधि सकिँदैछ । त्यसका लागि थप्ने कि नथप्नेबारे छलफल भएको हो । कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा जारी गरिएपनि भोकमरीको खतरा बढेको छ । रोगले भन्दा भोकले मृत्यु हुने भन्दै सर्वत्र निषेधाज्ञा खोल्न दबाब बढ्न थालेको छ ।
विश्वस्त स्रोतका अनुसार बिहिबारबाट लागू हुने गरी निषेधाज्ञा पूर्ण रुपमा नहटेपनि खुकुलो हुनेछ । सवारी साधान जोर बिजोरका अलावा पसल व्यवसाय खोल्ने समय थपिनेछ ।
सीमा नाकामा भने सेना परिचालनको सुझाव दिइएको छ । नाकामा सेना परिचालन गरेर चेकजाँच कडाई गर्न सुझाव दिइसकिएको छ ।
यसअघि उपत्यका मेयर फोरमले पनि नाकामा सेना परिचालन गरी कडाई गर्न सुझाव दिएको थियो । यातायातमा जोर बिजोर, उद्योग व्यवसाय सञ्चालन गर्न दिएपनि रोकथामको उपाय अपनाउनुपर्नेलगायतको सुझाव दिएका थिए ।