प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी भन्छन्— म अघिल्लो अधिवेशनले चुनेको वरिष्ठ उपाध्यक्ष भएकाले सर्वसम्मत अध्यक्षको हकदार हुँ, निर्वाचन प्रक्रियामा जानुपर्यो भने पनि सहर्ष स्वीकार छ । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन यही चैत १६—१७ मा काठमाडौंमा हुँदैछ । प्रेस सेन्टरको इतिहासमा पहिलो पटक यसपालि नेतृत्व चयन गर्न निर्वाचन हुने सम्भावना छ ।
विभिन्न गुट(उपगुटमा विभाजित माओवादी केन्द्रको राजनीतिक प्रभाव यस संगठनको निर्वाचनमा पनि झल्किने निश्चितप्रायः छ । अध्यक्षका प्रत्याशीमध्ये सबैभन्दा बलिया मानिएका हाल प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समर्थन दिएको आँकलन गरिँदैछ ।
त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गिरी प्रेस सेन्टर नेपालभित्र बौद्धिक र वैचारिक नेता मानिन्छन् । २०५३ सालमा ‘हाँक’ साप्ताहिकबाट पत्रकारिता शुरु गरेका उनले २०५६ मा ‘हाँक’को सहसम्पादक, २०६० मा ‘जनएकता’ साप्ताहिकको सहसम्पादक हुँदै २०६४ मा ‘मूल्यांकन’ मासिकको सम्पादकीय टोलीमा बसेर काम गरिसकेका छन् ।
हाल उनी संगठनको नेतृत्व गर्नुका साथै आमसञ्चार तथा पत्रकारिता विषयको प्राध्यापनमा छन् । उनै कमल गिरीसँग गरेको कुराकानी :

– प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनले सेन्टरको के कस्तो नीति र नेतृत्व चुन्दैछ ?
श्रमजीवी पत्रकारको पूर्ण आर्थिक सुरक्षा, पेशागत हित एवम् साना–ठूला मिडियाको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता जस्ता विषयलाई मूर्त गर्ने कुरा नै हाम्रा नीति हुन् । सँगै जनपक्षीय मिडियाको विशेष संरक्षण हाम्रो थप प्राथमिकता हो ।
जहाँसम्म नेतृत्वको प्रश्न छ, हाम्रा कुनै पनि प्रतिनिधि संगठनको अध्यक्ष, पदाधिकारी वा केन्द्रको दावेदार हुन् । किनभने हामी लोकतान्त्रिक प्रक्रियामा छौं । हाम्रो विधानले यसबारे स्पष्ट व्याख्या गरेको छ । म अघिल्लो अधिवेशनले चुनेको वरिष्ठ उपाध्यक्ष हुँ । यसर्थ सर्वसम्मत अध्यक्ष हुन्छु भन्ने मलाई विश्वास छ । निर्वाचन प्रक्रियामा जानुप¥यो भने पनि हामी त्यसलाई सहर्ष स्वीकार गर्नेछौं ।
मैले अध्यक्षमा दाबी पनि गरेको छु । संगठन भन्नु विचार, व्यक्तित्व र व्यक्तिहरूको गठजोड हो । अझ प्रेस सेन्टर नेपाल त वैचारिक आधारसहितको पेशागत एकत्व भएको संगठन हो । म नै अध्यक्ष हुनुपर्ने त्यस्तो अनिवार्य त छैन, तर संगठनभित्रका समकालीन जनपक्षीय प्रवृत्तिलाई नेतृत्व गर्नसक्छु भन्ने आत्मविश्वास छ मलाई ।
– प्रेस सेन्टर जस्तो देशव्यापी संरचना भएको संगठनको नेतृत्वमा दाबी गर्दैगर्दा समकालीन पत्रकारिताका प्रवृत्ति के कस्तो पाउनुभएको छ ?
नेपालमा व्यावसायिक पत्रकारिताको इतिहास धेरै लामो छैन । पछिल्ला तीन दशकमा हामीले धेरै उतारचढाव पार गरे पनि विश्व पत्रकारिताको इतिहासमा हामी कान्छो नै छौं । हामीले विश्वका उम्दा पत्रकारहरू जस्तैः अस्ट्रेलियाका जोन पिल्जर, अमेरिकाका सेमोर हर्ष र ग्लेन ग्रिनवाल्ड, ब्राजिलका पेपे स्कोबार, मेक्सिकोका जर्ज रोमास तथा टर्कीका जोन दुइन्दारको नाम धेरै पछि मात्र थाहा पायौं ।
वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि हामीले ठूल्ठूला संघर्ष गर्नुप¥यो । हाम्रा अग्रजहरुले धेरै ठूलो मूल्य चुकाउनुप¥यो । सुब्बा कृष्णलाल अधिकारी हुँदै कृष्ण सेन ‘इच्छुक’सम्म आइपुग्दा अभिव्यक्ति स्वतन्त्रताकै लागि हजारौं पत्रकारले ज्यान गुमाउनुप¥यो । झन् मैले प्रतिनिधित्व गर्ने संगठन र हामीले समाएको कलम त रगतमा लत्पतिएको छ । भयानक प्रतिकूलताबीच हामीले पत्रकारिता अर्थात पत्रकारिता र परिवर्तनको यात्रालाई अघि बढायौँ । त्यो मिसन पत्रकारिता थियो ।
हातैले समाचार लेख्ने युगबाट आज हामी व्यापक सूचना प्रविधिमा प्रवेश गरिसकेका छौं । विगतमा हामीले दुःख पायौं भनेर आगामी युवा पत्रकारको पुस्ताले पनि दुःखै पाउनुपर्छ भन्ने हुँदैन । हामीले आजको पत्रकारितालाई व्यापक र विश्वव्यापी बनाउन केही सांगठनिक प्रयत्न गर्नैपर्नेछ । त्यसैले युवा पत्रकारलाई सही ढंगले नेतृत्व गर्न सकेनौं, प्रशिक्षित तथा संगठित गर्न सकेनौं भने आगामी दशकको नेपाली पत्रकारिता यथास्थिति वा पुनरुत्थानको गोलचक्करमा फस्ने सम्भावना रहन्छ ।
आमपत्रकारको वैचारीकरण, हकहित र व्यावसायिकताका लागि प्रयत्नशील संगठन हो । त्यसैले यस्तो संगठनको नेतृत्व गर्ने जोसुकै साथी पनि पत्रकारिता पृष्ठभूमिबाट आएको वैचारिक, इमानदार र आदर्श बोकेको हुनु जरुरी हुन्छ । म आफू भने प्रेस सेन्टर जस्तो गौरवशाली संगठनको नेतृत्वका लागि योग्य छु भन्ने ठान्छु ।
– नेतृत्व आकांक्षीहरुमध्ये प्रतिनिधिहरुले तपाईंलाई नै किन रोज्ने ?
हाम्रो संगठनका सबै साथीहरू नेतृत्वका लागि योग्य हुनुहुन्छ भन्नेमा म ढुक्क छु । यस संगठनको गौरवशाली इतिहास, वीरता र संघर्षका अघिल्तिर म एउटा व्यक्ति धेरै गौण हुँ । संगठनले नेपालको पत्रकारिता र श्रमजीवी पत्रकारहरुको अधिकारको पक्षमा धेरै ठूलो काम गरेको छ । त्यहाँबाट धेरै साथीहरुले आफ्नो क्षमता विकास गर्नुभएको छ । संगठनले पनि आफ्ना नेता कार्यकर्ताहरुको व्यवसायिकताका लागि ठूलो लगानी गरेको छ । त्यसैले अरु साथीहरु पनि म जत्तिकै क्षमतावान हुनुहुन्छ भन्नेमा कुनै शंका भएन ।
संगठनका धेरै साथीहरुलाई म कसरी आइपुगें, मेरो इतिहास के हो र मैले कहिलेदेखि पत्रकारिता गरिरहेको छु भन्ने थाहा छ । म यो संगठनमा सोपान क्रममै केन्द्रीय सदस्य हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारीमा आइपुगेको हुँ । पत्रकारितामा झण्डै तीन दशकदेखि सक्रिय छु । त्यसैले म यसको स्वाभाविक दावेदार हुँ । तथापि म आफूलाई भन्दा बढी संगठनको इतिहास, गौरव र लोकतान्त्रिक चरित्रमा बढी विश्वास गर्छु । म आफ्नो पार्टी नेतृत्वलाई पनि त्यति नै विश्वास गर्छु ।
नेतृत्व र शहीदहरुको रगत(पसिनाकै मूल्यमा हामी यहाँसम्म आइपुगेका हौं । म हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसरी युवाहरुलाई माओवादीमा जोडिन जुन आह्वान गरिरहनु भएको छ, त्यसको प्रभाव स्वरुप तपाईंले उपनिर्वाचन र स्ववियु निर्वाचनमा त्यसको परिणाम देखी रहनु भएकै छ । मैले प्रेस सेन्टरको नेतृत्व गरिरहँदा, त्यसै स्प्रिटमा न्यु मिडियामा आवद्ध भएका युवा पत्रकार, पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई प्रेस सेन्टरमा संगठित गरेर यो देशकै ठूलो र व्यवसायिक पेशागत संगठन बनाउनु छ ।
– पत्रकारिता क्षेत्रमा दलीयकरण अन्त्य हुनुपर्ने बहस भइरहेको बेला तपाईंहरु पार्टीकै पत्रकारहरुको संगठनको नेतृत्वमा दाबी गर्दैगर्दा यसले कसरी प्रेस स्वतन्त्रतालाई बल पुग्छ ?
प्रथमतः हामीले दलीय व्यवस्थाको मौलिक स्वरुप, त्यसका भ्रातृ तथा शुभेच्छुक संगठनबारे बुझ्नुपर्ने हुन्छ । लोकतान्त्रिक गणतन्त्र दलहरूको अगुवाइमा जनयुद्ध र जनआन्दोलनबाट आएको हो । यो व्यवस्थाको सार भनेकै विचारको प्रयोग, प्रचार र परिष्कार हो । यसका लागि दलहरुका विभिन्न संयन्त्र हुन्छन् । तिनका पनि आफ्नै मौलिकता, महत्व र सीमा हुन्छन् ।
भारतीय स्वतन्त्रता आन्दोलनका दुई मुखर अनुहार गान्धी र नेहरु दुबै कुनै समय पत्रकारितामा संलग्न थिए । नेहरु त ‘द नेशनल हेराल्ड’ पत्रिकाको सम्पादक थिए । त्यस्तै कार्ल मार्क्स ‘राइन जाइटुङ’ पत्रिकामा आवद्ध थिए । लेनिनले ‘इस्क्रा’ पत्रिका प्रकाशन गर्थे । यस्तो किन भयो त भन्दा लोकतन्त्र र पत्रकारिताको दीर्घकालीन लक्ष्य र दिशा एकैतिर सोझिन्छ ।
पत्रकारिता, विश्वविद्यालय, न्यायालय, कर्मचारीतन्त्र जस्ता क्षेत्रमा राजनीतिलाई निरपेक्ष निषेध गर्नु लोकतान्त्रिक गणतन्त्रको मर्ममै प्रहार गर्नुसरह हुन जान्छ । हो, त्यहाँ निश्चित दलको निहित स्वार्थ देखिनु वा अनुशरण हुनु गलत हुन्छ, तर त्यहाँ समाज रुपान्तरणको विचार र प्रयोग रोकिदिने हो भने त्यो समाजको गतिशीलताको बन्ध्याकरण हुन जान्छ । संस्थाहरू दलीयकरण हुनुहुँदैन भन्ने कुरामा म सहमत छु, तर तिनलाई राजनीतिभन्दा पृथक हेर्नुपर्छ भन्ने कुरामा म सहमत छैन ।
– नेपाली पत्रकारिताका मूल चुनौती के के देख्नुभएको छ ?
पहिलो( हामी सूचना प्रविधिको बाढीमा छौं । सूचनाको नाममा जनताबीच ‘मिस(इन्फरमेशन’, ‘डिस(इन्फरमेशन’ र ‘माल(इन्फरमेशन’ पुर्याइँदैछ । डिजिटल टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिन्स, बिग डेटा तथा सामाजिक सञ्जालको प्रयोग गरेर आममानिस तथा मतदाताको धारणा प्रभावित पार्ने काम झन्—झन् मिहिन ढंगले हुन थालेका छन् । यो युग ‘डिप(फेक’ को युग पनि हो । त्यसैले जनतालाई त्यस्ता सूचनाबाट संक्रमित हुन नदिनु र सही सूचना पुर्याउन भूमिका खेल्नु हाम्रो खास प्राथमिकता हो ।
दोस्रो संविधानमा हामीले मुलुकको आर्थिक प्रवन्ध सार्वजनिक, निजी र सहकारी भनेर तोकेका छौं । सहकारी क्षेत्र संविधानले परिकल्पना गरेअनुरुप बन्न सकेको छैन । राज्य र निजी क्षेत्रले आममानिसको हक अधिकार र वाक स्वतन्त्रतामा कुठाराघात गरिरहेका हुन्छन्, तर यो कुरा आममानिसलाई थाहा नहुनसक्छ । यस्तोमा हामीलाई जनताको आवाज बोल्ने, कर्पोरेट स्वार्थविपरीत रिपोर्टिङ गर्ने जनमुखी पत्रकारिता ९प्रो(पिपुल जर्नालिजम० को खाँचो पर्छ । त्यस्ता मिडिया संस्थालाई हामीले बलियो बनाउनुपर्छ ।
नेपाली पत्रकारितामा यसको ठूलो अभाव छ । हामीकहाँ म्याग्जिन र वैकल्पिक पत्रकारिताको अभाव छ । यसले सार्वजनिक विमर्शको दायरालाई कमजोर बनाइदिएको छ । त्यसैले हामीले पत्रकारिता तथा जनमिडियालाई बलियो बनाउनै पर्नेछ ।
तेस्रो पत्रकारको वैचारिकता एवम् व्यावसायिकता बढाउन र हक(अधिकारको रक्षा गर्न सशक्त संगठन आवश्यक पर्छ । यी कामहरू प्रेस सेन्टर नेपालले नै गर्नुपर्नेछ ।
– पत्रकारिताको वैचारिकता र व्यावसायिकतालाई अघि बढाउन दलीय संगठनले कुनै भूमिका खेलेनन् भन्नेहरू धेरै छन् । के यी संगठनहरू खारेज गरिदिए हुन्न ?
तपाईंले गरेको प्रश्नबाट उब्जिने सवाल के हो भने हामी लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं कि कमजोर रु हामी लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौं भने यस्तो व्यवस्थामा संस्थाहरु खाजेर गरेर होइन, तिनीहरुलाई पारदर्शी, उत्तरदायी र गतिशील बनाएरमात्रै समाजको पांग्रालाई अघि बढाउन सक्छौं । समाजको एउटा तहमा, मनोविज्ञानमा जहिल्यै पछाडि फर्कने प्रवृत्ति निश्रित हुन्छ ।
हामीले लोकतन्त्रमा संस्थाहरुलाई कमजोर बनाउने बहस गर्यौं भने पछाडि फर्कने चेतनालाई अघि बढाइरहेका हुन्छौं । जनयुद्ध र जनआन्दोलनको जगमा उभिएर गणतन्त्रसम्म आइपुगेको नेपाली समाजलाई फेरि किमार्थ पछाडि फर्काउन सकिँदैन । त्यसैले मलाई लाग्छ, हामीले संस्थाहरुलाई खारेज गरेर होइन, तिनीहरुलाई पारदर्शी र उत्तरदायी बनाएरै तिनीहरुभित्रको कमजोरीलाई निर्मूल पार्नुपर्छ । यति भन्दाभन्दै हाम्रो संगठन विशिष्ट वैचारिक स्कुलिङबाट हुर्किएको संगठन हो । त्यसैले पत्रकारितामा हामी विचार र व्यवसायको पर्याय हुन खोज्दैछौं ।
– माओवादी केन्द्रमा पनि धेरै विचार समूह छन्, तपाईं पनि कुनै न कुनै समूहबाटै अध्यक्षको आकांक्षी हुनुहुन्छ होला । सबैलाई रिझाएर नेतृत्व लिन सक्नुहुन्छ ?
समग्रमा माओवादी ठूलो लक्ष्यसहित अगाडि बढेको एउटा आन्दोलन हो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र त्यो बृहत्तर लक्ष्यको प्रारम्भिक खुड्किलोमात्रै हो । सम्पूर्ण आन्दोलनको विरासत र आजको राजनीतिक बहसको प्रतिनिधित्व नेकपा ९माओवादी केन्द्र०ले गर्छ । लोकतान्त्रिक व्यवस्थाभित्रको एउटा राजनीतिक दलका रुपमा यसका आफ्ना विभिन्न संगठनहरु छन् । स्वाभाविक रुपमा ती संगठनहमा विविध कोण, बहस र प्रवृत्ति छन् ।
प्रेस सेन्टर नेपाल माओवादी केन्द्रको भ्रातृ संगठन होइन, शुभेच्छुक संगठन हो । यसले मूलतः पक्षधरताको कुरा गर्छ । अधिकार, पेशा सुरक्षा र व्यावसायिकताको कुरा गर्छ । म कुनै निश्चित विचार समूहको निकट छैन । म त पार्टीको निकट छु । यो आन्दोलनले सृजना गरेको परिवर्तनको निकट छु । यो पार्टीको विचार बोकेकै कारण मारिनुभएका कृष्ण सेन ‘इच्छुक’ को विचारको प्रतिनिधित्व गर्छु । लेखेकै भरमा बेपत्ता बनाइनु भएका दण्डापाणी न्यौपाने र मिलन नेपालीको विचारको प्रतिनिधित्व गर्छु । जनयुद्ध र जनआन्दोलनको वैचारिकीको प्रतिनिधित्व गर्छु म ।
पत्रकारिताको वैचारिकता र व्यवसायिकताबाहेक हाम्रो अर्को कुनै लक्ष्य छैन । यसबारे संगठनभित्र कुनै विवाद, विमति र असमझदारी पनि छैन । तथापि केही शैलीगत विविधता हुनसक्छन् । म सबै साथीहरूको संवेदनशीलता, मनोविज्ञान र प्रतिभालाई संयोजन गर्न सक्छु भन्ने ठान्छु ।
– अन्त्यमा, तपाईं अध्यक्ष भएमा संगठनमा नयाँ के गर्नुहुन्छ ?
विकट हिमाली गाउँदेखि मधेशसम्म फैलिएको यो संगठन उहाँहरूकै रगत र पसिनाको देन हो । संगठनका संस्थापक महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, बलराम थापा, खिलबहादुर भण्डारी, दामोदर तिमल्सिनालगायत नेतृत्वको जनपक्षीय पत्रकारिता र पहलकदमीको म उच्च सम्मान व्यक्त गर्छु ।
त्यस्तो विरासत बोकेको संगठनको नेतृत्व गर्ने अवसर पाउँदा पहिलो( बेपत्ता र शहीद पत्रकारहरूको पहिचान तथा सम्मान गर्ने कार्यक्रम अघि बढाउनेछु । दोस्रो म संगठनलाई विधि र पद्धतिमा चलाउनेछु । तेस्रो देशैभरका प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुको रक्षा, क्षमता विकास, ‘ग्लोबल एक्सपोजर’ का लागि ठोस पहलकदमी लिनेछु । चौथो अन्तर्राष्ट्रिय पत्रकारहरूको संगठन र खोजी पत्रकारहरुको संस्थाहरु ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आदि संगठनसम्म नेपाली पत्रकारको पहुँच विस्तारका लागि पहल लिनेछु ।
पाँचौं नियुक्तिपत्र, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, बीमा, सामाजिक तथा स्वास्थ्य सुरक्षालगायतका हक अधिकारको पक्षमा सिङ्गो संगठनलाई उभ्याउनेछु । छैटौं पूर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतान्त्रताको पक्षमा संगठनलाई खरो रुपमा उभ्याउनेछु । सातौं देशैभरका स्थानीय तथा स्वरोजगारमूलक मिडिया उद्योगलाई जोगाउन ठोस पहल लिनेछु । आठौं वैकल्पिक मिडियाको जरोकिलो बलियो बनाउन संगठित प्रयास गर्नेछु । नवौं संगठनको संस्थागत आर्थिक स्रोतको व्यवस्थापन गर्नेछु ।