नेपालमा मृगौला प्रत्यारोपण सुरु भएको १२ वर्ष भएको छ । मृगौला प्रत्यारोपण पहिलोपटक २००८ मा टिचिङ अस्पतालमा अष्ट्रेलियन प्रत्यारोपण टोलीबाट भएको थियो । त्यसलगतै यसलाई विर अस्पतालबाट सुरु गरिएको थियो । त्यसपछि अन्य अस्पतालहरुमा पनि मृगौला प्रत्यारोपण गर्न थालिएको छ । विगतको भन्दा अहिले नेपालमा मृगौला रोगीहरुको संख्या बढ्दो छ ।
सुमेरु अस्पताल धापाखेलले मृगौला प्रत्यारोपणको अनुमति पाएपछि नौ जनाको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिसकेको छ । मृगौला प्रत्यारोपणको लागि चाहिने अनुभवी जनशक्तिदेखि लिएर प्रयाप्तरुपमा इक्वीप्मेन्ट, मृगौला प्रत्यारोपणको लागि अस्पताललाई चाहिने वातावरण सबै राम्रो भएकै कारण अहिलेसम्म जति विरामीको मृगौला प्रत्यारोपण गरिएको छ ती सबै विरामीहरु आफ्नो दैनिक जीवनयापन सामान्यरुपमा चलाइरहेको डाक्टर बिरेन्द्र यादव बताउनुहुन्छ ।
कोरोना भाइरसका कारण रोकिएको प्रत्यारोपण पछिल्लो समय कारोना भाइरस संक्रमण दर घट्दै गएपछि मृगौला पीडितहरुले मृगौला प्रत्यारोपण गर्दै आइरहेका छन् ।
तथ्यांकका अनुसार ३ करोड जनसंख्यामा १० प्रतिशत व्यक्तिलाई मृगौलाको समस्या रहेको छ । उक्त १० प्रतिशत व्यक्तिहरुमा मृगौला फेल मात्र नभएर अन्य विभिन्न किसिमका मृगौलासँग सम्बन्धित रोगहरु छन् । यसको अर्थ वार्षिक ३० लाख व्यक्ति मृगौला रोगको शिकार भएका छन्, जसमा वार्षिक ३ हजार व्यक्तिको मृगौला फेल भईरहेको सर्जन डा. बिरेन्द्र यादव बताउनु हुन्छ ।
कुनै पनि व्यक्तिको दुवै मृगौलाले काम गर्न छाडिसकेपछि मृतक अथवा जिवित व्यक्तिको शरीरबाट मृगौला झिकी हाल्ने प्रकिृयालाई मृगौला प्रत्यारोपण भनिन्छ । मानिसको एउटै मात्र मृगौला ठिक भए पनि उ जिवनभर स्वस्थ रहन सक्छ । दुवै मृगौलाले काम गर्न छाडेको अवस्थामा मात्र उसले प्रत्यारोपण गर्नु पर्ने हुन्छ ।
मृगौला दान गर्ने व्यक्ति स्वस्थ हुनुपर्छ । उसलाई कुनै पनि किसिमको रोग लागेको हुनु हँुदैन । मृगौला दाता अर्थात् डोनरलाई कुनै पनि किसिमको रोग नलागेको अवस्थामा मात्र दोस्रो व्यक्तिमा मृगौला प्रत्यारोपण सम्भव हुन्छ । अहिलेको अनुसन्धान अनुसार मृगौला दान गर्ने व्यक्ति सामान्य व्यक्तिको दाँजोमा आयु अझै धेरै लामो देखिएको छ ।
सामान्य मानिसको दाँजोमा मृगौला प्रत्यारोपण पछि दाता र दोस्रो व्यक्ति दुवैले समय–समयमा मृगौला चेकजाँच गराईरहनु पर्नेहुन्छ र केही पनि समस्या आउनुभन्दा अगाडि नै उनिहरुले चाल पाउँछन् र उपचार गर्न सक्छन् । तर दुईवटै मृगौला स्वस्थ भएको मानिसहरु कहिले पनि आफ्नो स्वास्थ्यको जाँच गराउँदैनन् र केही बिग्रिएको महसुस भईसकेपछि मात्र जाँच गराउँछन् र कतिपय अवस्थामा उनिहरु दुवैवटा मृगौला फेल भएको अवस्थामा मात्रा अस्पताल पुग्छन् ।
उदाहरणको लागि एउटा गाडी किनिसकेपछि त्यस गाडीको क्याट्लगमा एक हजार किलोमिटर गूडी सकेपछि सर्भिसिङमा लैजानु भनिएको हुन्छ र मानिसहरुले त्यसलाई समय समयमा सर्भिसिङमा लैजाने गर्छन् । तर मानिसहरु भने एउटा समय आएपछि स्वास्थ्य जाँच गराईरहनुपर्छ भन्ने कुरा बिर्सन्छन् । जसकारण मृगौला खराब भईसकेपछि मात्र उनिहरु अस्पताल आउने गरेको डा. यादव बताउनुहुन्छ ।
नेपालमा हाल मृगौला प्रत्यारोपण गर्ने अस्पतालको संख्या बढ्दो क्रममा छन् । तिनवटा सरकारी अस्पताल र पाँच वटा निजी अस्पतालहरु छन् । सरकारी अस्पतालमा धर्मभक्त नेसनल किड्नी ट्रान्सप्लान्ट सेन्टर, भक्तपुर, विर अस्पताल र टिचिङ अस्पताल रहेका छन् । प्रभाइभेट अस्पतालमा सुमेरु अस्पताल धापाखेल, ग्राण्डी अस्पताल, निदान अस्पताल, पुरानो मेडिकल कलेज, चितवन र नयाँ मेडिकल कलेज चितवन रहेका छन् ।
हालसम्म सबैभन्दा धेरै मृगौला प्रत्यारोपण धर्मभक्त नेसनल किड्नी ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा भएको छ भने मृगौला ट्रान्स्प्लान्टको लाइसेन्स प्राप्त गरेको धापाखेलले छोटै समयमा झण्डै आधा दर्जन भन्दा बढीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गर्न सफल बनिसकेको छ । कोरोना भाइरसको महामारीका कारण केही समय रोकिएको मृगौला प्रत्यारोणलाई सुमेरु अस्पतालले फेरि त्यसलाई निरन्तरता दिएको छ । केही दिन अगाडि मात्र दुई जनाको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको छ भने थुप्रै मृगौला रोगीहरुको मृगौला प्रत्यारोपणको लागि तयारीसमेत गरिरहेको सर्जन डा. बिरेन्द्र यादव बताउनुहुन्छ ।
नेपालको अवस्थामा मृगौला प्रत्यारोपण सफल हुने सम्भावना ९५ प्रतिशत रहेको डाक्टर यादब बताउँछन् । यधपी नेपालमा मात्र नभएर संसारभरमै मृगौला प्रत्यारोपणको सफलताको दर ९५ प्रतिशत रहेको मृगौला प्रत्यारोपण बिशेषज्ञहरुको भनाई छ । प्रत्यारोपण असफल हुने दर ५ प्रतिशत हुन्छ । कोही पनि व्यक्तिले प्रत्यारोपण सतप्रतिशत सफल हुन्छ भनेर भन्नु झुट भएको डा. यादव बताउँछन् ।
नेपाल सरकारले अंगदान गर्ने व्यक्ति अर्थात् डोनरको उमेर हद भने १८ वर्ष देखि ६० वर्ष तोकेको छ । एकदमै असाधारण अवस्थामा मात्र बढीमा ६५ वर्षसम्मको व्यक्तिको डोनरको रुपमा लिने गरेको देखिएको छ । १८ वर्षको भन्दा कम उमेरको डोनर लिन पाईदैन, किनभने उनिहरुले आफ्नो मृगौला प्रत्यारोपण भएको दाबी गरेको अवस्थामा जेल चलान हुने व्यवस्था रहेको छ ।
डोनरले बिरामीसँग रगतको समुह नमिलेको अवस्थामा पनि मृगौला दान गर्न सक्छन्, तर अहिलेसम्म नेपालमा रगत समुह मिलेको अवस्थामा मात्र प्रत्यारोपण भईरहेको छ । टिचिङ अस्पतालले भने रगत समुह नमिलेको अवस्थामा पनि मृगौला प्रत्यारोपण गराउने छिट्टै नै सुरु गर्ने तयारी गरिरहेको छ । यधपी रगत समुह मात्र मिलेर प्रत्यारोपण गर्न सकिदैन । यस बाहेक अन्य धेरै कुरा मिलेपछि मात्र प्रत्यारोपण गर्न सकिन्छ ।
प्रत्यारोपण पछि एक व्यक्तिले जुन बिरामी हुनु अगाडिको सामान्य अवस्था थियो, त्यही अवस्थामा फर्कन सक्छ । उसले पहिला गरेको कामहरु गर्नु उसलाई केही त्यस्ता समस्याहरु आउँदैन । फरक यती हो कि उसले जिन्दगीभर औषधी खाईरहनु पर्दछ । त्यो औषधी सुरुको समयमा १५ देखि २० हजार पर्न जान्छ, त्यसपछि विस्तारै औषधीको डोज र शुल्क पनि कम पर्दै जान्छ । मृगौला प्रत्यारोपण गरिसकेपछि सबै कुरा सामान्य भएर जान्छ । यसमा तनाब लिनुपर्ने कुरा केही पनि नभएको मृगौला प्रत्यारोपण सर्जन डा. यादव बताउनुहुन्छ । लामो समयदेखि मृगौला प्रत्यारोपण गर्दै आएका डा. विरेन्द्र यादव मृगौला रोगीहरुको बाहिर जाने प्रबृति पछिल्लो समय कम भएर गएको बताउँछन् । पहिला नेपालमा ३ वटा मात्र प्रत्यारोपण गर्ने अस्पतालहरु भएको कारण नेपालीहरु बाहिर जान बाध्य भएको उनले बताए । अहिलेको अवस्थामा यो बदलिसकेको छ । नेपालमै उपचार सम्भव गराउनको लागि सरकारले प्राइभेट अस्पतालहरुलाई पनि प्रत्यारोपणको लाईसेन्स दिएको छ र अहिले नेपालीहरु बाहिर जाने दर पनि रोकिएको छ ।
मृगौला स्वस्थ राख्नको लागि सबैभन्दा पहिला आफ्नो जीवनशैली परिवर्तन गर्न जरुरी छ । जीवनशैली परिवर्तन भन्नाले नियमित व्यायाम गर्ने, खानपिनमा ध्यान दिने, पर्याप्त मात्रामा पानी खाने, मोटोपन घटाउने, समयमै सुगर, प्रेसरको औषधी खाएर निको पार्ने र अन्त्यमा समय—समयमा जेनेरल चेकअप गर्ने ।
अझै यसमा पनि पानी खानु सबैभन्दा ठुलो उपचार हो । औषधी नै पानी हो । हामीले पर्याप्त रुपमा पानी नखाँदा हाम्रो स्वास्थ्यलाई निकै नै नकरात्मक असर पर्छ । आफूले भक्तपुरमा हुँदाको अनुभवले यो बताउँछ कि हाम्रो खाडी मुलुकमा भएका दाजुभाईहरु बिरामी हुनुको मुख्य कारण पानीको कमी हो । चर्को घाममा काम गर्दा शरीरबाट पानी पसिनाको रुपमा बग्ने र शरीरमा पानीको मात्रा कम भई विभिन्न किसिमको रोग लाग्दछ । मृगौलालाई चाहिने पानीहरु उनिहरु पिउँदैनन्, जसकारण नेपाल फर्कदा उनिहरुको मृगौला काम नगर्ने भईसकेको हुन्छ । यसैले पानी मृगौलालाई स्वस्थ राख्नुको लागि निकै नै महत्वपूर्ण तत्व हो ।
यसका साथै मृगौलालाई समय—समयमा जाँच गराउनु यसलाई स्वस्थ राख्नु अर्को उपाय हो । समय—समयमा मृगौलाको अवस्थाको बारेमा जाँच गरेको अवस्थामा हामीहरुले मृगौला खराब हुनु अगावै त्यसको अवस्था बुझेर समयमा नै सतर्क हुन सक्छौं । मृगौला टेस्टका लागि धेरै केही पनि टेस्ट गर्नुपर्दैन । सिर्फ २–३ वटा टेस्ट यसको लागि काफी हुन्छ जसमा १ हजार देखि २ हजार खर्च लाग्छ ।